काठमाडौ २१ जेठ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न सम्भव नभएको बताएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने बताएका हुन्।
उनले भने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरै छैन। राजीनामा आउँदैन। छानबिन समिति पनि बनाउन आवश्यक छैन।
उनले गृहमन्त्रीलाई संसद्बाट जवाफ दिन वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने बताए।
संसद्को गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए।
प्रतिपक्षीले सदनलाई बन्धक बनाएको उनको आरोप छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन्। उनीहरूले उच्चस्तरीय छानबिन समिति गठनको पनि माग गरेका छन्।
सत्तापक्ष र प्रतिपक्ष दुवैको अडानका कारण हिजो र आज बस्दै नबसी संसद् बैठक स्थगित भयो। बैठक भोलि दिउँसो १ बजे बस्ने सूचना टाँस गरिएको छ।








प्रतिक्रिया दिनुहोस्