काठमाडौं २९ बैशाख । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ । एडेन अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् । हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागका रूपमा यो कदम चालिरहेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भोलि मध्यपूर्वको भ्रमणमा जाँदै गर्दा हमासले एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको हो । हमासले यसले गाजाका नागरिकलाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको खबरमा उल्लेख छ ।
विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ । यसअघि हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा छ ।
यसैबीच इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाले एडेन अलेक्ज्यान्डरको रिहाइको बारेमा पहिले नै जानकारी गराएको बताएको छ । एडेन अलेक्ज्यान्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो भने उनी अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए ।
२१ वर्षीय अलेक्ज्यान्डरलाई गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेको समयमा अक्टोबर ७ मा हमासले बन्ध बनाएको थियो ।







प्रतिक्रिया दिनुहोस्