काठमाडौं १२ बैशाख । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो ।
गोरखा भूकम्पको सम्झनामा ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित काठमाण्डौ उपत्यकासहित देशभर कार्यक्रम भएको हो ।
ललितपुरको ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्यालीसहितका कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । भूकम्प गएर भत्किसकेपछि घर पुनर्निर्माण गर्नेभन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने भन्दै केन्द्र, प्रदेश र पालिका मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभयो ।
आज बारपाकमा पनि भूकम्प स्मृति कार्यक्रम भएको छ । बारपाक सुलिकोट गाउँपालिका–२ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धता नबिर्सिएको र सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भूकम्पको केन्द्रविन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । भूकम्पले बारपाकको स्वरूप नै परिवर्तन गरेको स्थानीय जीतबहादुर घले बताउनुहुन्छ । भूकम्पपछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरू तीव्र रूपमा विकास भएको उहाँँको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्