धनुषा, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको ्बताएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीका लागि मधेशी जनसमर्थन निर्णायक रहेको दावी गरे ।

कहिले काङ्ग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बीचमा आएको उनको स्पष्टीकरण थियो ।
माओवादीप्रति विश्वास गरेका लाखौं लाख जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको बताएका प्रचण्डले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान शुरु गरेको बताएका थिए ।
हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोशिस गरिरहेको माओवादी नेताहरुले बताएका छन् । जनताको घरमा बस्ने, उनीहरुले जे खान्छन्, त्यही खाने, जस्तोमा बस्छन्, त्यही बस्ने गरेको अध्यक्ष प्रचण्डले सवै सभाहरुमा बताउँदै आएका छन् ।

अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताएका छन् । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको समेत उनले दावी गरे ।
प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन समेत प्रचण्डले जनतालाई अपिल गरे । मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गरेका प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा पार्टी उपमहासचिव एवं मधेस प्रदेस इन्चार्ज मातृका यादवले पार्टीले सत्तामुखी होइन जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको भन्दै मधेसलाई लाल मधेस बनाउने उद्घोष गरे ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको उल्लेख गर्दै मधेसवादी दल विभाजन र नातावाद कृपावादले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए । समेत उनले स्पष्टीकरण दिएका थिए ।
विभिन्न पार्टी परित्याग गरी ५० जना प्रवेश
मधेश अभियानका क्रममा आइतवार पनि धनुषाको हंसपुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेका ५० वना कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गराउँदा प्रचण्डले उनीहरुको स्वागत गरेका छन् ।

प्रचण्डले नवप्रवेशीलाई माला टिका र गम्छा ओढाएर पार्टीमा प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा काग्रेस क्षेत्रीय प्रतिनिधि निरस राइन, एमालेका राकेश सहनी, जसपाका वडा अध्यक्षका प्रत्यासी रामु मुखिया सहित नेता कार्यकर्ता रहेका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा यो पालिकाको मेयरमा दोस्रो बनेकोमा आगामी निर्वाचन जित्ने गरी पार्टीप्रति आकर्षण बढिरहेको माओवादी केन्द्र हंसपुरका नेताहरुले बताएका छन । अघिल्लो स्थानीय निर्वाचनमा हारेको जनकपुरधामको वडामा यसपटकको उपनिर्वाचन जितेपछि माओवादी केन्द्र धनुषामा उत्साहित रहेको उनीहरुले दावी गर्दै आएका छन् ।

यसै बीच तेस्रो कार्यक्रमका रुपमा धनुषा जिल्लाको कमला नगरपालिकाले जनतासँग माओवादी तराई मधेस अभियानमा रहेको प्रचण्डसहितको माओवादी केन्द्रको टिमलाई स्वागत गरेको थियो । स्वागत गर्ने पालिका प्रमुख विशेश्वर यादव नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । उनी गत निर्वाचनमा माओवादीको सहयोगमा निर्वाचित भएका थिए श्र
मधेसी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग गरेका छौं : प्रचण्ड
प्रचण्डले अर्को एउटा सभामा मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन्।
धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो धारणा राखेका हुन् ।

महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले बताए । मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको दावी गरे ।
मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनको दावी छ ।

आफूलाई मदेशका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति संभव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीका उपमहासचिवभन्दा माथिका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनले यो पोशाक मात्रै नभई आफूहरुको मन पनि मधेसमा छ भन्ने विम्व भएको स्पष्टीकरण दिएका छन् ।
आज दिनभर सिराहका झण्डै आधा दर्जन कार्यक्रम अध्यक्षसहितको टोली सहभागी हुने बताइएको छ ।
प्रचण्डसँगको मधेश अभियानमा पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुंग वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेत, मातृका यादव तथा महेन्द्र राय यादव लगतायका नेता कार्यकता सहभागी छन्। माओवादीले एक दिन एउटा जिल्लामा जनभेटघाट र सभा तथा छलफल गर्दै आएको छ ।

सदाझैं आज विहान पनि अध्यक्ष प्रचण्डसहितको टोलीले विहानी हिंडाइमा स्थानीयहरुसँगै चियापान र छलफल गरेको थियो । यो अभियानमा प्रचण्डले स्थानीयहरुसँगै खाना, खाजा र नस्ता गर्दै आएका छन् । मधेशमा उनी मधेशी पहिरनमा नै देखिंदै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्