काठमाडौं ८ फागुन । आयात र निर्यातमा भएको वृद्धिले पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान भइरहेको देखाएको छ।
चालू आर्थिक वर्षको सात महिनामा १० प्रतिशतले आयात र साढे ४६ प्रतिशतले निर्यात बढेको हो। दसैँसम्म ऋणात्मक रहेको आयात अहिले ह्वात्तै बढेको हो।
साउनदेखि माघसम्म नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँबराबरको आयात गरेको छ। गत वर्ष यही अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजारको आयात भएको थियो।
त्यसैगरी ७ महिनामा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजारको निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो निर्यात ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँको थियो।
७ महिनामा कुल ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजारको वैदेशिक व्यापार भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३।३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष नेपालले ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजारको व्यापार गरेको थियो।
व्यापार बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा समेत बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। यो अवधिमा नेपालको व्यापारघाटा ६।२० प्रतिशतले बढेको हो।
७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजारको व्यापारघाटा भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ घाटा थियो।
उक्त अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ११।४० प्रतिशत र आयातको हिस्सा ८८।६० प्रतिशत छ।








प्रतिक्रिया दिनुहोस्