काठमाडौं माघ २८
राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
१९९० सालमा जन्मिएकी नानीमैयाको ९१ वर्षको उमेरमा निधन भएको हो । ०३८ सालको राष्ट्रिय पञ्चायतमा बहुमतसहित प्रवेश गरेर नानीमैया देशभर चर्चित भएकी थिइन् । त्यसबेला उनले ६५ हजार ७७७ मत पाएकी थिइन् । उनी पछि दोस्रो मत पाएर निर्वाचित भएका जोगमेयर श्रेष्ठले भने ३० हजारभन्दा कम मत पाएका थिए । पञ्चायती शासकका टिका टिप्पणीमा मुखखोलेर जवाफ दिने, शासकका नराम्रा काममा सार्वजनिक टिप्पणी गर्ने र आफ्ना कुरा राम्रोसंग राख्ने अभ्यासले ‘पञ्चायतका शासक थर्काउने’ पहिचान बनेको थियो ।
०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भएर काम गरेकी उनले नुन र तेलका लागि लाइन बस्नुपर्ने अभ्यास अन्त्य गर्दै भूमि सुधारमा रहेको जटिलता फुकाउन पनि काम गरेकी थिइन् ।
सानै उमेरमा विवाह भएर छुटेकी नानीमैयाले त्यसपछि भने एकल जीवन बताउदै आइन । घरमा बहिनी–ज्वाइँलाई ल्याएर राखेकी उनले बहिनीका सन्तानलाई नै आफ्ना सन्तान मानेकी थिइन् । उनकी बहिनीका छोराको समेत निधन भइसकेकाले नातिले काजकिरिया गर्ने बुझिएको छ ।








प्रतिक्रिया दिनुहोस्