काठमाडौं २१ माघ । ताप्लेजुङ — पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार आइतबार झापाबाट ८ र सुनसरीबाट ६ जना गरी १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमकमा आन्दोलनकारीले प्रहरीको गाडीको सिसा फुटाएपछि एक राउन्ड हवाई फायर गरेको उनले दाबी गरे । आन्दोलनरत समूहले ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा दुईपाङ्ग्रे सवारी मोटरसाइकल०, तीनपाङ्ग्रे टेम्पो० समेत चल्न दिएका छैनन् ।
यातायात बन्दको प्रभाव इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा समेत परेको छ । तर झापामा भने बन्दको प्रभाव कम परेको छ । फाट्टफुट्ट सवारी चलेका छन् ।
यातायात बन्दका कारण किसानले तरकारी, फलफूललगायत उपज बजार पुर्याउन सकेका छैनन् । ‘माघ २८ मा झापामा छोराको विवाह छ, किनमेल गर्न जाने उपाय नै छैन,’ फुङलिङस्थित मेदिबुङ आधारभूत विद्यालयकी शिक्षिका जानुका सिटौलाले भनिन्, ‘अस्पतालबाट गइरहेका कुनै एम्बुलेन्समा घुस्न सकिन्छ कि भनेर धाइरहेकी छु ।’
मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी एलिसा बस्नेतले भने विवाहका लागि प्रहरीको एस्कर्टिङमा ताप्लेजुङबाट तीन दिनमा बल्ल झापा पुगेको बताइन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापाले यातायात नचल्दा सदरमुकामका होटल पनि सुनसान भएको र व्यवसायी पसल खोलेर बस्नु मात्रै परिरहेको बताए ।
बन्द खुलाउने र वार्ता गर्ने विषयमा आइतबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो ।








प्रतिक्रिया दिनुहोस्