
काठमाडौं, २६ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।
कमजोर ब्याटिङ गरेको नेपाललाई ओमानले ६ विकेटले हराएको हो।
नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य ओमानले १४।५ ओभर बाँकी छँदा ४ विकेट गुमाएर पार गर्यो।
ओमानका लागि अकिस इलायसले सबैभन्दा बढी ४६ रनको योगदान दिए। यस्तै बैभव वाटेगावङ्करले नटआउट ३७ र सुल्तान अहमेदले नटआउट १६ रनको योगदान गरे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा २९ रन दिए। बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सोमपालले ओपनिङ ब्याट्सम्यान स्वपनिल खाडयेलाई १ रनमा एलबिडब्लूको धरापमा पारेका थिए। सन्दीपले जितेन्दर सिंहलाई २४ रनमा खेलिरहँदा बोल्ड गरे।
बसन्तले ४६ रन बनाएर खेलिरहेका अकिस इलयासलाई बोल्ड गरेका थिए। लगत्तै सन्दीपले खवार अलीलाई ११ रनमा बोल्ड गरे।
खराब सुरुवात गरेको नेपालले १० ओभरको पावर प्लेमा २७ रन जोड्दा १ विकेट गुमाएको थियो। नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रन जोड्दा ६ ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
पहिलो विकेटका रुपमा ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौं ओभरको अन्तिम बलमा ७ रन बनाएर आउट भए। अर्का ओपनर दिलीप नाथ १९ रन बनाएर आउट भए। उनले ४९ बल खेल्दा ३ चौका प्रहार गरे।
आरिफ शेखले फेरि पनि राम्रो ब्याटिङ गर्न सकेनन्। उनी ६ रनमा आउट भए। कप्तान पारस खड्का १७ रन बनाएर खेलिरहँदा कालीमुल्लाहबाट बोल्ड भए। उनले ४२ बल खेल्दा १ चौका प्रहार गरे।
नेपालको रन स्कोरलाई गति दिने प्रयास गरेका दीपेन्द्रसिंह ऐरी २० रनमा पेभेलियन फर्के। उनले ३२ बल खेल्दा ३ चौका हिर्काए। लगत्तै बसन्त रेग्मी १ रनमै आउट भए।
१ सय ११ रनमा शरद भेषावकर सातौं विकेटका रुपमा आउट भए। उनले २२ रनको योगदान दिए। ३२ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोहितकुमार पौडेलले १४ रन बटुले। उनले ४२ बल खेल्दा १ चौका हिर्काएका थिए।
सोमपाल कामीले नटआउट १७ रनको योगदान गरे। करण केसी ४ रनमा रनआउट भए। सन्दीप लामिछाने शून्य रनमा बोल्ड भए।
यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। अब नेपालले आइतबार तेस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।






प्रतिक्रिया दिनुहोस्