काठमाडौं, १५ असार । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ। न्यायाधीशत्रय श्रीकान्त पौडेल, खुसी प्रसाद थारू र शालिग्राम कोइरालाको इजलासले उनलाई दोषी ठहर गरी सजाय सुनाएको हो।
खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र ९ करोड १९ लाख ६ सय ३४ रुपैयाँ जरिवाना तोकेको अदालतका उपरजिष्ट्रार दिपेन्द्रनाथ योगीले जानकारी दिए।
उनका अनुसार आजको आदेशअनुसार खड्काको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीका नाममा राखेको दुईवटा जग्गासमेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ। साथै अख्तियार दुरुपयोग आयोगले मागदाबी गरेको बिगो बापतको रकमसमेत जफत हुन आदेश भएको योगीले बताए।
अख्तियारले २०७५ पुस २३ गते खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैंया बिगो कायम गरी मुद्दा दायर गरेको थियो।
खड्काले पदमा रहँदा कानुनविपरीत कमाएको १८ करोडभन्दा बढी सम्पतिको स्रोत नखुलेकोले त्यसरी अकुत रूपमा सम्पति गैरकानुनी रुपमा आर्जन गरेको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको थियो। तत्कालीन महानिर्देशक खड्काले गैरकानुनी सम्पति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि आयोगले गरेको अनुसन्धानबाट पारिश्रमिक, जग्गा बिक्री, ऋण सापटी, घर भाडा, नोकरीबाट अवकाश हुँदा, पेन्सन, विप्रेषण आय, गाडी बिक्री, उनको छोरा बुहारीको पारिश्रमिक लगायतको विभिन्न स्रोतबाट ८,६४,६९,७५१।५३ रुपैयाँ आर्जन गरेको देखिएको थियो। खड्काको खर्च तथा लगानीतर्फ भने पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको थियो। उनको खर्च तथा लगानी रु। २७,३०,७५,३८०। ७६ पाइएको थियो।








प्रतिक्रिया दिनुहोस्