काठमाडौं, ३ जेठ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।
प्रहरीले दुई दिनअघि रायमाझीलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको सूचना सार्वजनिक गरेको थियो ।प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।पाण्डेले दिएको बयानका क्रममा तत्कालीन गृहमन्त्री खाँण समेत पक्राउ परेका थिए ।








प्रतिक्रिया दिनुहोस्