एजेन्सी, ७ फागुन । रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि होडमा कायम रहन शनिबार ओसासुनालाई २–० ले हराएको छ । यस जितपछि मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी पनि पाँच अंकमा छोट्याएको छ ।
पहिलो हाफ गोेलरहित बराबरीमा सकिएको खेलमा मड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । मड्रिडका लागि फेडरिक भाल्भर्डे र मार्को एसेन्सियोले गोल गरे ।
मुख्य फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुस बिना नै मैदान उत्रिएको मड्रिडले गोलका लागि दास्रो हाफ कुर्नु परेको थियो । प्रतिस्पर्धात्मक खेलको ७८औँ मिनेटमा भाल्भेर्डेले गोल गर्दै मड्रिडलाई १–० अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।
८९औँ मिनेटमा भिनिसियसले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै मड्रिडको जित पक्का गराए ।
यस जितसँगै दोस्रो स्थानमा रहेको मड्रिडको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औँ स्थानमा छ ।
शनिबारनै भएको अन्य खेलमा रियल बेटिसले रियल भालाडोलिडलाई २–१ र मार्लोकाले भिल्लारियललाई ४–२ ले हरायो । यस्तै, रियल सोसिडाड र सेल्टा भिगोले १–१ को बराबरी खेले ।






प्रतिक्रिया दिनुहोस्