काठमाडौं, २० पुस ।
नेपालमा कुनै न कुनै मृगौला समस्या रहेकाको संख्या करिब ३० लाखको हाराहारीमा छ । वार्षिक करिब तीन हजार मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था पुग्ने गरेको तथ्यांक रहेको छ । तर, प्रत्यारोपणका सेवा दिइरहेका सरकारी र निजी अस्पतालहरुमा आवश्यक उपकरण र जनशक्ति भएपनि प्रत्यारोपण भने निकै कम हुने गर्दछ । पछिल्ला १४ वर्षमा जम्मा दुई हजारको हाराहारीले मात्रै मृगौला प्रत्यारोपण गर्न सकेका छन् ।
नेपालमा वर्षेनी मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा कुल जनसंख्याको दश प्रतिशत अर्थात् करिब तीन हजार बिरामी पुग्ने गरेका छन् । तर, पछिल्लो १४ वर्षमा मृगौला प्रत्यारोपण गर्नेको संख्या अत्यन्तै न्यून अर्थात् दुई हजार एक सय २१ जनाको मात्रै मृगौला प्रत्यारोपण हुन सकेको छ । आवश्यक उपकरण र जनशक्ति रहेका अस्पतालले पनि उपचार दिन नसक्दा मृगौला प्रत्यारोपण गर्नेको संख्यामा कमी भएको हो । काठमाडौं उपत्यकामा सात र बाहिर तीन गरी देशभर जम्मा दश अस्पतालमा मृगौला प्रत्यारोपणको सेवा उपलब्ध छ । मृगौला बिग्रनेमध्ये ३० हजारको एउटा मृगौला बिग्रेपनि अर्कोले काम गर्नसक्ने अवस्था रहने तथ्यांक छ । तर, ६४ जना चिकित्सकले मात्रै मृगौला प्रत्यारोपणको लाइसेन्स पाएका छन् । जसमध्ये १८ चिकित्सकले भने कलेजो प्रत्यारोपणको समेत लाइसेन्स प्राप्त गरेका छन् । आवश्यक जनशक्ति र उपकरण रहेका ठूला अस्पतालदेखि अन्य अस्पतालले यो सेवा दिन सकेका छैनन् । बिरामीको चाप अनुसार जनशक्ति र उपकरण अभाव छ ।
देशमा वि.सं. २०६५ देखि मृगौला प्रत्यारोपण सुरु भएको हो । तर, यो आममानिसको पहुँचमा अझै पुग्न सकेको छैन । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीर, ग्रान्डी तथा ललितपुरको किस्ट, सुमेरु र निदानले यो सेजा दिदै आएको छ । काठमाडौं बाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ मेडिकल साइन्स चितवन र विराटनगरको नोबेल मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्दै आएका छन् । काठमाडौं मेडिकल कलेज र नर्भिक अस्पताल, ललितपुरको मेडिसिटी, चितवन मेडिकल कलेज, सुर्खेतको कर्णाली प्रदेश अस्पतालले यो सेवा सुरु गरेको छैन । निजी र सरकारी गरी १५ अस्पतालले यसको लाइसेन्स पाएपनि दश अस्पतालले मात्रै यो सेवा दिदै आएको छ । वीरमा १७ डायलाइसिस मेसिन र तीन आइसियूमा प्रत्येक हप्ता झण्डै तीन सयले डायलाइसिस गर्दै आएका छन् । मृगौला प्रत्यारोपण गर्न थालेको १४ वर्षमा एक सय ८० को प्रत्यारोपण भएको वीर अस्पतालमा बेग्लै अपरेसन थिएटर छैन । वीर लगायत विभिन्न अस्पतालहरुमा प्रत्यारोपणका बिरामीहरु हप्ता, महिना वा वर्षको पालो कुर्नुपर्ने अवस्था छ ।
नेपालमा मृगौला प्रत्यारोपणको सफलतादर भने ९६ प्रतिशतभन्दा बढी छ । तर, उपकरण र जनशक्ति अभावमा डायलाइसिस समेत नपाउदा बिरामीको ज्यान जाने गरेको छ । देशमा उपचार नपाउदा बिरामीहरु भारत जाने गरेका छन् । अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार परिवारका सदस्य वा नजिकका नातेदारले मृगौला दिन सक्ने व्यवस्था छ । मृगौला बिक्रि हुने जोखिमले ऐनमा कडाइ गरिएको छ । जसले गर्दा आफन्तसँग मृगौला म्याच नहुदा प्रत्यारोपण सेवाबाट वञ्चित भएका बिरामी पनि छन् । मृगौला पीडितको बढ्दै गएको चापलाई ध्यान राख्दै उपकरण र जनशक्ति रहेका अस्पताल एवम् लाइसेन्स प्राप्त अस्पतालहरुले क्षमतावृद्धि एवम् सेवा सुचारुमा तदारुकता देखाउन अत्यन्त जरुरी छ ।







प्रतिक्रिया दिनुहोस्