ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदै


एबीसी / संवाददाता

भादगाउँ, १० साउन ।   साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन । सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।

आज उनीहरुले आफ्नो घरगृहमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षसको पूजा आज गर्दछन् । सो समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता रहेको छ ।

घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडा)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम कली (खुट्टामा लगाउने गोलाकार) वा तामाको औँठी लगाइदिने चलन पनि छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने, हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ)मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जाँै, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने प्रचलनसमेत रहेको छ ।

घण्टाकर्ण चतुर्दशी दिन बच्चा भूतदेखि नडराउन्, रुन्चे नलागोस् भनी टोलटोलमा रहेको छवासमा गथामुंगःलाई आगो तपाउन सकेपछि घुमाइघुमाई आगो तपाउने प्रचलन छ । आजको दिन गथामुगः दहनसँगै लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । गथामुंगःको दिन सिनाज्या मनाउन घरआँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टेको सङ्ख्या पनि कम हुने र लामखुट्टेको टोकाइसमेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरूको भनाइ छ ।

लोककथन अनुसार घण्टाकर्ण भगवान् विष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान् विष्णुले शिव र आफू एउटै भएकाले शिवको पनि पूजा गर्नुभन्दा घण्टाकर्ण मानेनन्, तब विष्णुले ‘हरि र शङ्कर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए, यसमा आधा विष्णु र आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरूले शिवशिव भनेर जिस्काउँथे, सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्ट झुण्ड्याएर हिँड्थे । कसैले शिवको नाम लिनेबित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये । त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको किवंदन्तीमा उल्लेख छ ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलबासीले नर्कट र छ््रवालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई चोकचोकमा ठड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो बाजागाजाका साथ राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोला, दोबाटो, चौबाटो र नगर बाहिर लगेर जलाइन्छ । जलाएर र्फकेपछि घिनताङघिसी तालमा नाचेर आउने परम्परा छ ।

आजको पर्वलाई किसानहरूको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र वर्ष दिनको चाडपर्वको सुरुआत भएको सङ्केत पर्वको रुपमा पनि लिने गरेको छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गर्दछन् । नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा करिव दुई हजार वर्ष अघिदेखी यो पर्व मनाउँदै आएको उहाँले बताउनुभयो । यो पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा श्रेष्ठ बताउनुभयो । कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ ।

आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन थालनी गरिन्छ । गाईजात्राका बेला आठ दिन प्रदर्शन गरिने विभिन्न बाजागाजा, भैरव नाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, रामायणलगायत व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि सुरुआत गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनबाट मुखुण्डो बनाउन शुभारम्भ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com