काठमाडौँ, २० फागुन । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य हिजो बिहीवार मध्यरातिदेखि लागू भएको छ । निगमले हिजो बेलुका भारतीय आयल कर्पोरेसन्स ९आईओसी० ले पठाएको नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच–पाँच रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा पेट्रोल अब प्रतिलिटर एक सय ५० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ पर्नेछ ।
पेट्रोलियम पदार्थको भाउ निरन्तर बढ्दो छ । तर सरकारले इन्धनमा लगाएको कर घटाएर उपभोक्तालाई राहत दिन चासो देखाएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७८ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा कर लाग्दै आएको छ । त्यस्तै ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६ सय ४१ रुपैयाँ २३ पैसामा किनेको ग्यासमा दुई सय ८० रुपैयाँ ३० पैसा कर लाग्दै आएको छ ।
करसहित निगमको ढुवानी खर्च र मुनाफा जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगमले इन्धनमा अझै पनि घाटा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर झन्डै २० रुपैयाँ नाफा छ ।
पछिल्लो समय रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्य बढेको छ । त्यसको असर नेपालमा पनि परेको हो । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् रहेको निगमले जनाएको छ । अहिले ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्छ ।
आयाल निगमका कर्मचारीको पोसाक खर्च कटौती
नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोसाक खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले कर्मचारीको पोसाक संरक्षण भत्ता कटौती गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोसाक संरक्षण भत्ता पाउने छैनन् । पोसाक संरक्षण खर्च कटौती भएपछि वार्षिक झन्डै ५० लाख रुपैयाँ खर्च घट्ने निगमले जनाएको छ ।
यस्तै निगमले बिक्रेता कमिसन पनि अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् ।यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको झन्डै ३ दशमलव ३९ प्रतिशत कमिसन पाउँदै आएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढाए पनि आउँदो १५ दिनमा झन्डै दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।








प्रतिक्रिया दिनुहोस्