
काठमाडौं, २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका न्यायाधीश विनोदकुमार गौतमको इजलासमा बिहीबार पनि तीनवटा मुद्दा तोकिएको छ । बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गा व्यक्तिका नाममा गर्न भूमिका खेलेको अभियोगमा चितवनका न्यायाधीश गौतमको इजलासमा लागूऔषध, सम्बन्ध विच्छेद र लेनदेनका गरी तीनवटा मुद्दा पेसीमा राखिएकोमा गौतम इजलासमा नबसेपछि स्थगित भएको हो ।
न्यायाधीश न्यायपरिषद ऐन अनुसार नियुक्त हुने भएकाले उनीविरुद्ध अख्तियारले मुद्दा दायर गर्दैमा स्वत निलम्बन नहुने कतिपयको तर्क छ । तर, न्यायपरिषद प्रवक्ता मानबहादुर कार्कीले भन्नुभयो जुन ऐनअन्तर्गत मुद्दा दायर भएको हो, सोही ऐन अनुसार निलम्बन हुने बताउनुभयो ।भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पदमा बसेका व्यक्ति पदबाट स्वतः निलम्बन हुन्छन् । तर, गौतमको इजलासमा भने आज पनि तीनवटा मुद्दाको पेसी तोकिएको छ । भ्रष्टाचार निवारण ऐन अनुसार नै कांग्रेस उपसभापति बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निम्लम्बित भएका छन् ।
इजलास तोकिएकोबारे आफूलाई थाहा नभएको र पत्रपत्रिकामा समाचार आएका आधारमा भन्दा पनि अख्तियारले यसबारे चिठी लेखेर सम्बन्धित ठाउँमा जानकारी गराउनुपर्ने उहांले बताउनुभयो । प्रक्रियागतरुपमा जानकारी पुगेपछि न्यायाधीश गौतम स्वतः निलम्बनमा पर्ने उहांको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्