
रोल्पा, ७ मंसिर ।
मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय पालिकाहरुलाई आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गर्नु भएको छ । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले बजेट छर्ने भन्दा नतिजा देखिने गरी खर्च गर्न आग्रह गर्नुभयो ।
उहांले वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने बताउंदै कार्यपालिकाले योजना अनुसार बजेट विनियोजन गरि वडालाई सेवा केन्द्रको विकास गर्नुपर्ने बताउनु भयो ।
शहिदमार्गलाई दुई लेनको बनाउन डिपिआर तयार भएको बताउँदै उहाँले दुई लेनको सडक क्षेत्राधिकार छुट्टयाएर घर बनाउन दिने निर्णय तत्काल लागु गर्न पालिकाहरुलाई आग्रह गर्नुभयो ।
त्यसैगरी मुख्यमन्त्री पोखरेलले आजै अर्को एक कार्यक्रममा रोल्पा र रुकुमको खाम संस्कृति पर्यटन प्रवद्र्धनको प्रचुर संभावना भएको बताउनुभएको छ । उहाँले खाम संस्कृतिलाई पर्यटनसंग जोडेर अघि बढ्दा स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।
खाम मगर संस्कृतिका वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने गरी योजना बनाउन गाउँपालिका नेतृत्वलाई आग्रह गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग प्रदेश सरकारले आश्वासन समेत उहांले दिनुभयो ।

उहाँले अब रुकुम र रोल्पा विकट नहुने गरि सडक पूर्वाधारको बलियो जग तयार भएको बताउनुभयो । मध्यपहाडी लोकमार्ग र शहिद मार्गले यी दुई जिल्लालाई यातायात सञ्जाल राम्रो बनाउदै लगेको र अरु आवश्यक सडक प्रदेश सरकारले बनाउँदै जाने बताउनु भयो । सडक सञ्जाल विस्तारसगैं गाउँका उत्पादन शहर पठाउने योजना अनुसार काम गर्न उहाँले आग्रह गर्नुभयो ।
रुकुमको चुनवाङबाट रुकुमकोट र सुलीचौर बाट थवाङ जोड्ने सडकका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको उहांले जानकारी दिनुभयो ।
मंसिर ४ गते रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाबाट शुरु भएको मुख्यमन्त्रीको रुकुम रोल्पा यात्रा शनिवार रोल्पाको रुण्टीगढी पुगेर टुंगिएको छ ।








प्रतिक्रिया दिनुहोस्