ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिनुको मुख्य कारण यस्तो


एबीसी न्यूज

बाँके, १५ कात्तिक । बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन् । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका यस्ता क्लबहरुमा आबद्ध किशोरीहरु अहिले प्रथमतः आफू बालविवाहबारे बुझ्छन् र त्यसपछि अरुलाई बुझाउने गर्छन् ।

बालविवाहबारे जानकारी दिन आयोजना हुने विभिन्न कार्यक्रमहरुबाट सिक्दै बालिकाहरुले आफ्नो गाउँटोलमा त्यसको प्रचार गरिरहेका छन् । बाँकेमा प्लान इन्टरनेशनल र स्याकले यस कार्यमा सघाउँदैआएका छन् । उनीहरुलाई बालविवाहको प्रतिकूल प्रभावबारे प्रशिक्षण मात्रै दिइएको छैन, उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम नै बनाएर विभिन्न गतिविधिहरुमा संलग्न गराइँदै आइएको छ ।

“किशोरी क्लबमा आबद्ध भएपछि हामीले धेरै कुरा जान्ने अवसर पाएका छौं,” बालबिवाहविरुद्ध सक्रिय राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका किशोरीहरुले भने – ‘हामीले बुझेका कुरा आफ्ना घर, छिमेकमा पनि बुझाइरहेका छौं ।’ शुरुमा संस्थाको सहयोगमा क्रियाशील किशोरी क्लब अब सक्षम हुँदै गएका छन् । उनीहरु आफ्ना अधिकार के हुन् र कहाँ गएर अधिकार माग्ने भन्नेमा सचेत हुँदै गएका छन् ।

“किशोरी बुझ्ने हुँदै जाँदा उनीहरुविरुद्ध हुने कानून विपरीतका घटना रोक्न तथा न्यायका लागि पहल गर्न सहज हुँदै गएको छ,” राप्तीसोनारी गाउँपालिका–७ मा बालविवाह रोकथाम परियोजना अनुगमनका लागि पुगेकी प्लान इन्टरनेशनलकी आशा बुढाले भन्नुभयो । स्याकले राप्तीसोनारी गाउँपालिकामा समावेशी किशोरी क्लब गठन गरेको छ । उक्त क्लब गत वर्ष माघमा गठन गरिएको हो जसमा २० जना किशोरी आबद्ध छन् ।

किशोरी क्लबको नियमित बैठक बस्न राप्तीसोनारी गाउँपालिका–७ को वडा कार्यालयले एउटा कोठा उपलब्ध गराएको छ । त्यहाँ तालीम, खेलकूद सामग्रीदेखि कम्प्युटरसम्म उपलब्ध गराइएको छ । क्लबमा आबद्ध किशोरीहरु समूहमा कम्प्युटर सिक्छन् । गाउँमा कसैको बालविवाह हुन लागेको जानकारी आए त्यसलाई रोक्न किशोरीहरु योजना बनाउँछन् र खट्छन् । बेलाबेलामा उनीहरु बालविवाहविरुद्ध चेतनामूलक ¥याली निकाल्छन्, सडक नाटकदेखि जनप्रतिनिधिसम्मलाई भेटेर झक्झक्याउँछन् ।

गत वर्ष गठन भएको समावेशी किशोरी क्लबले पाँच वटा बालविवाह रोकिसकेको छ । त्यति मात्रै होइन आफ्नै उमेर नपुग्दा पनि उनीहरुले अभिभावकलाई उमेर नपुगी विवाह गर्नहुँदैन भनेर सम्झाउन सफल भएका छन् । समावेशी किशोरी क्लबकी सदस्य हुन् लक्ष्मी थारु । उनको १६ वर्षकै उमेरमा परिवारले विवाह गरिदिने प्रयास गरेको थियो ।
“मैले रोई, कराई आफ्नो विवाह रोकें,” उनले भनिन् – “किशोरी क्लबमा आबद्ध भएपछि अरुलाई सम्झाउँदै छु । जनेचतना जगाउँदै छु । बालविवाह रोक्दै छु ।” समावेशीकै सदस्य शर्मिला शाहको पनि ललाइफकाई बालविवाहका लागि आफन्तले गरेको प्रयास विफल भयो । शाहले आफ्नी आमालाई सम्झाइन् र मौकैमा उनको बाल विवाह रोकियो । “आफ्ना अभिभावकलाई सम्झाउन सक्ने हो भने बालविवाह रोक्न सकिन्छ,” उनी भन्छिन् ।

राप्तीसोनारी–७ मा रहेको पालिका स्तरीय समावेशी किशोरी क्लबकी आशा बुढामगरले जनचेतनाले समाजमा बालविवाह गर्नुहुँदैन भन्ने सन्देश दिनसक्ने भएकाले आफूहरुले जनचेतनाका गतिविधिलाई प्राथमिकता दिने गरेको बताइन् । “बालविवाह गर्दा आर्थिक, सामाजिक, मानसिक र शारीरिक रुपमा पर्ने असरबारे किशोरी र अभिभावकलाई सम्झाउने गरेका छौं,” उनले भनिन् ।

समावेशीमा आबद्ध किशोरीहरुले बालविवाह रोक्न खोज्दा समाजबाट आलोचना खेप्नु परेको बताउँछन् । “समाजलाई बुझाउन नसक्दा अप्ठ्यारो पर्ने हो, बुझेपछि बालविवाह रोक्न गा¥हो हुँदैन,” लक्ष्मीले भनिन् । परियोजना अनुगमनका क्रममा राप्तीसोनारी गाउँपालिकाकी अध्यक्ष धनीकुमारी खत्री र वडा नं ७ का अध्यक्ष रामलखन थारुले किशोरीहरुलाई आफूहरुको साथमा रहेको भन्दै आश्वस्त पार्दै आएका छन् । निडर भएर बालविवाहविरुद्धको अभियानमा जुट्न उनीहरु प्रोत्साहन दिन्छन् ।

कम्प्युटर सिक्दै किशोरी

नरैनापुर गाउँपालिका–६ गंगापुरमा रहेको सिर्जनशील किशोरी क्लब पनि बालविवाहविरुद्ध जनचेतना जगाउन सक्रिय छ । स्याक र प्लान बालविवाह रोकथाम परियोजना अनुगमनका लागि त्यहाँ पुग्दा किशोरीहरुले बालविवाहविरुद्ध आफूहरुले गरेको प्रयासबारे सुनाए । बालविवाहको प्रभाव, त्यस्तो कुरीतिलाई रोक्न चाल्नु पर्ने कदमबारे उनीहरुलाई जानकारी दिइनाका साथै क्षमता अभिवृद्धिका लागि कम्प्युटर तथा खेलकूद सामग्री, कार्यालय सञ्चालनका लागि सहयोग गरिँदै आइएको छ ।

क्लबकी सचिव शारदाकुमारी यादवले चेतनामूलक ¥याली, सडक नाटक लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिइन् । “हामी आफैले अभियान गरेर चेतनामूलक नाटक आयोजना गर्छौ,” यादवले भनिन् । नरैनापुर–६ का वडाध्यक्ष वीरेन्द्रपाल सिंहले वडाले किशोरी क्लबका गतिविधि सञ्चालनका लागि वडा कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेको जानकारी दिए । कम्प्युटर कक्षका लागि पनि कोठा व्यवस्था गरिएको छ र क्लबका नाममा बजेट पनि विनियोजन गरिएको छ ।

गठन गरिएका क्लबहरुले कसरी काम गरिरहेका छन् भन्नेबारे स्याकले नियमित अनुगमन गर्ने गरेको छ । प्लान इन्टरनेशनल र स्याक किशोरीहरुको क्षमता विकाससँगै बालविवाहविरुद्ध उनीहरुलाई अग्रसर बनाउन परियोजना नै सञ्चालन गरेर लागिरहेका छन् ।

वडाध्यक्षबाट कक्षा सञ्चालन

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारु पूर्व शिक्षकसमेत हुन् । उनले आफ्नो वडामा रहेका विद्यालयमा बालविवाहविरुद्ध अभियान शुरु गरेका छन् । थारुले वडाका विद्यालयमा गएर कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि बालविवाहविरुद्धको ‘क्लास’नै सञ्चालन गर्ने गरेका छन् । विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम गर्दा त्यो सन्देश वडाभर प्रवाह हुने वडाध्यक्ष थारुको विश्वास छ ।
वडाध्यक्ष थारुले भने – “मधेसी, थारु समुदायमा अभिभावकले नै बालविवाह गरिदिने संस्कार रहेको छ । त्यसलाई चिर्न पनि विद्यालयका विद्यार्थीहरुमार्फत अभियान थालेको हुँ ।” प्रदेश ५ सामाजिक मन्त्रालयको एक कार्यक्रममा सहभागी भएपछि थारुले बालविवाहविरुद्ध विद्यालयमै गएर कक्षा लिने निर्णय लिएका हुन् । “वडा कार्यालयमै पालिकास्तरीय किशोरी क्लबको कार्यालय राखेको छु,” उनले भने ।

विभिन्न टोलका विद्यार्थी विद्यालयमा हुने र उनीहरुलाई सचेत बनाउँदा वडाभर सन्देश पुग्ने थारुको भनाइ छ । “तीन वटा विद्यालयमा मैले क्लास लिइसकेको छु, थप विद्यालयमा जाने योजना छ,” वडाध्यक्षको जिम्मेवारीबाट फुर्सद पाए लगत्तै विद्यालय पुगेर सचेतना फैलाउने गरेका थारुले भने ।

नबुझ्ने मधेसी, थारु समुदायले बुझ्दै गएपछि बालविवाह गर्नुहुँदैन भन्नेमा सचेत हुँदै गए पनि बुझेका अभिभावकले बालविवाह गर्ने गरेको पाएको उनले बताए । ‘‘वर्षौं पुरानो बालविवाहको संस्कार भत्काउन समय लाग्छ, अभिभावकलाई पनि बालविवाहको असर र कानूनी कारवाहीबारे प्रशिक्षण दिन आवश्यक देखेको छु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com