काठमाडौं, ४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
सभामुख महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकारले नयाँ मुलुकी ऐन संशोधन गर्ने बचन आफूलाई दिएको जानकारी दिनु भएको हो ।
बिहिबार काठमाडौंमा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देश र जनताको पक्षमा समिर्पित भएर समाचार सम्प्रेषण गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउन पनि पत्रकारहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुको विकल्प नरहेकोे सभामुख महराको भनाई छ ।
सभामुख महराले नयाँ मुलुकी ऐन संशोधनका लागि सरकारसँग पर्याप्त छलफल गर्न पनि नेपाल पत्रकार महासंघलाई सुझाव दिनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी एकपछि अर्को कानुन ल्याएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले प्रेस स्वतन्त्रता विरोधि कानुन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनु भयो ।
कार्यक्रममा नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको छ । नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक २ वर्षमा प्रदान गर्दै आएको सो पुरस्कारको राशी २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्