काठमाडौं, २ भदौ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज रुपन्देहीस्थित शिक्षा र कृषि विकास निर्देशनालयमा छड्के निरीक्षण गरेको छ । बुटवलस्थित मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले गरेको निरीक्षणका क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये छ जना अनुपस्थित थिए । उपस्थित अन्य सबै कर्मचारी कार्यालयको पोशाकमा समयमै उपस्थित भएको पाइएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
त्यस्तै शिक्षा निर्देशनालयका २३ जना कर्मचारीमध्ये १३ जना कर्मचारी कार्यालयको स्वीकृति लिएर पूरक परीक्षाका लागि विभिन्न १२ जिल्लामा खटिएको र अन्य सबै कर्मचारी समयमै उपस्थित रहेको कार्यालयका सूचना अधिकारी यमकान्त पाण्डेयले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्यालयले आफू मातहतका कार्यालयहरुको निरन्तर अनुगमन र छड्के गर्न थालेपछि प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारीको उपस्थितिमा सुधार आएको उहाँले बताउनुभयो । “यसबाट सेवा प्रवाहमा सुधार हँुदै गएको र कर्मचारीहरु पनि कामप्रति संवेदनशील रहेको देखिएको छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्