काठमाडौं, १४ माघ । निर्वाचन आयोगले विभिन्न दलका उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेको भनेर आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउत, रास्वपाबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार रहेका खगेन्द्र सुनार र गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ की उम्मेदवार निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो । सीकेले आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटोमा) आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरी परेपछि आयोगले पत्र काटेको हो । आयोगले उनलाई यस विषयमा ३ (तीन) दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
यसैगरी, खगेन्द्रले राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको भन्ने जानकारी प्राप्त हुन आएकाले उक्त आचारसंहिताको उल्लंघन हुने कार्य भएको हो वा होइनरु भनेर स्पष्टीकरण सोधेको छ ।उनलाई पनि तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । यता, निशाको हकमा भने विदेश (अष्ट्रेलिया)मा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने समेत बेहोराको विवरण पठाएको भन्ने उजुरी परेको आयोगले जनाएको छ ।‘उजुरीमा लेखिएजस्तो तपाईंले आफ्नो निर्वाचन प्रचार सामग्री समेत संलग्न गरी स्वयंसेवक फर्म पठाई आफूलाई आर्थिक सहयोग गर्न अनलाइन माध्यमबाट सूचना पठाएको सत्य साँचो हो वा होइन ?’, आयोगले निशालाई सोधेको छ, ‘तपाईंले निर्वाचन प्रयोजनको लागि बैंकमा खाता खोल्नु भएको छ वा छैन ?’आयोगका अनुसार उनले पनि तीन दिनभित्र स्पष्टीकरण पेस गरिसक्नुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्