काठमाडौ १५ असार । शिक्षक प्रतिनिधिले आज सिंहदरबारमा पुगेर सम्बन्धित पक्षलाई विद्यालय शिक्षा विधेयक पारित गर्ने असार १५ को समयसीमा स्मरण गराएका छन्।
आज विद्यालय शिक्षा विधेयक संसद्मा टेबुल गर्न माग गर्दै शिक्षकहरुले सिंहदबारमा पुगेर दबाब दिएका हुन्।
सहमती अनुसार नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै आइतबार बिहान सिंहदरबारस्थित शिक्षा समितिको कार्यालयमा पुगेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्।
सरकारले गत वैशाख १७ गते शिक्षक महासंघसँग यही असार १५ गते ९आज० सम्म शिक्षा ऐन जारी गर्ने सहमति गरेको थियो। सोही सहमतीअनुसार शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोनल स्थगित गरेका थिए।
सहअध्यक्ष पराजुलीको नेतृत्वमा शिक्षकहरूको टोली आज बिहान सिंहदरबारमा पुगेको हो।
‘हामी आइतबार बिहान साढे सात बजेदेखि सवा १० बजेसम्म सिंहदरबारमा थियौँ,’ पराजुलीले नेपालखबरसँग भनिन्, ‘त्यहाँ आज शिक्षा समितिको मिटिङ छ भन्ने थाहा पाएपछि हामी गएका हौँ। उहाँहरुलाई हामीले शिक्षा विधेयक जारी गर्ने असार १५ को डेटलाइन स्मरण गराएका छौँ।’
शिक्षामन्त्री, विषयगत समितिका सांसद्हरुलाई यस विषयमा आज ध्यानाकरर्षण गराएको उनले बताइन्।
आन्दोलनको रूप फेरिए पनि आन्दोलन नछाडेको उनले बताइन्।
महासंघसँग भएका सहमतीअनुसार विधेयक नआउने हो कि भन्ने शंकासमेत उनले व्यक्त गरिन्। ‘असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने प्रतिवद्धता त उहाँहले पुरा गर्नु भएन,’ उनले भनिन्, ‘आज विधेयक टेबुल मात्रै भए पनि होस् भन्ने हाम्रो माग छ। यति भए सरकारले पारित गर्न नभ्याए पनि टेबलसम्म गर्यो भन्न पाइन्थ्यो।’








प्रतिक्रिया दिनुहोस्