काठमाडौ १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले प्रतिनिधि सभाको बैठकमा मंगलबार पनि विरोध जनाउने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा विरोध कायमै राख्ने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बनाएको छानबिन समिति पनि झारा टार्ने काम गरेको ठहर गरेको छ।
‘दलको बैठकले शंकरदास बैरागी नेतृत्वको समिति झारो टार्ने काम गरेको हाम्रो ठहर छ,’ उनले भने।
सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो।
राप्रपाले पछिल्लो समय प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै आएको छ। विरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले संसद चलाएको भन्दै उनीहरूले बहिष्कार गर्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ।
रास्वपाले विरोधमा वेल घेराउ गर्दै आएको छ। अहिले रास्वपाको पनि संसदीय दलको बैठक बसिरहेको छ।








प्रतिक्रिया दिनुहोस्