काठमाडौं ३१ जेठ । इजरायलले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म इरानको राजधानी तेहरानस्थित आणविक सुविधा र सैन्य नेतृत्वमाथि ड्रोन र लडाकु विमानहरूबाट व्यापक आक्रमण गरेको छ।आक्रमणको जवाफमा इरानले इजरायलको राजधानी तेल अभिव र अन्य क्षेत्रमा सयौँ ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ । इरानी आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु र दर्जनौँलाई घाइते बनाएको छ। दुवै देशबीचको यो दशकौँकै सबैभन्दा तीव्र सैन्य भिडन्तले मध्यपूर्वमा व्यापक युद्धको खतरा बढाएउनुका साथै संयुक्त राज्य अमेरिका र अन्य ठूला सैन्य शक्तिहरू तानिन सक्ने चिन्ता विश्वभर फैलिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
इजरायलको ‘राइजिङ लायन’ अभियान
इजरायलले आफ्नो सैन्य कारबाहीलाई ूराइजिङ लायनू नाम दिएको छ । यो अभियान ूइरानको आणविक हतियार विकासलाई रोक्नू केन्द्रित रहेको दाबी गरिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार राति एक भिडियो सन्देशमा भनेका छन् ‘इरानी शासनलाई थाहा छैन कि उनीहरूलाई के भएको छ, र अझै के हुनेछ। यो शासन कहिल्यै यति कमजोर भएको थिएन।’ उनले इरानी जनतालाई आफ्ना नेताहरूविरुद्ध उठ्न आह्वान गर्दै यो आक्रमण इरानको आणविक र सैन्य क्षमतालाई नष्ट गर्न डिजाइन गरिएको बताए। नेतान्याहुले यो अभियान ‘को अवधि’, यदि लामो समयसम्म नभए पनिू जारी रहने चेतावनी दिएका छन् ।
इरानको जवाफी कारबाही
इरानले इजरायलको आक्रमणलाई ‘युद्धको घोषणा’ को संज्ञा दिँदै जवाफी कारबाही शुरू गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलका सैन्य र रक्षा केन्द्रहरूलाई ‘शक्तिशाली र सटीक’ रूपमा निशाना बनाएको दाबी गरेको छ । यो दाबीको स्वतन्त्र रूपमा पुष्टि नभएको बताइएको छ ।
शुक्रबार राति तेल अभिव वरपरका कम्तीमा सात स्थानमा इरानी मिसाइलहरू खसेका थिए । मिसाइलले रमात गानमा एक महिलाको मृत्यु र दर्जनौँलाई घाइते बनाएको छ। इजरायली प्रहरीले ७० वर्षीया एक महिलालाई ध्वसंस्थलबाट उद्धार गरिए पनि उनको मृत्यु भएको पुष्टि गरेको छ । तेल अभिवका तीन अस्पतालहरूले करिब २० जना घाइतेहरूलाई उपचार गरिरहेको र केहीको अवस्था गम्भीर रहेको बताएका छन्।
इरानमा ठूलो क्षति
इरानको संयुक्त राष्ट्रसंघीय राजदूत अमिर सईद इरावानीका अनुसार, इजरायलको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । मारिने र घाइतेमा अधिकांश सर्वसाधारण छन्। इरानले आफ्ना दुई उच्च सैन्य कमान्डरहरू, मोहम्मद बघेरी र जनरल होस्सेन सलामी, साथै आणविक वार्ताको नेतृत्व गरिरहेका राजनीतिज्ञ अली शमखानी र कुद्स फोर्सका कमान्डर इस्माइल घानीको मृत्यु भएको पुष्टि गरेको छ। तेहरानको पास्टौर क्षेत्रमा शनिबार बिहान हवाई प्रतिरक्षा प्रणालीले निरन्तर गोलीबारी गरेको र विस्फोटका आवाजहरू सुनिएको स्थानीय बासिन्दाले बताएका छन्।
आणविक सुविधामा क्षति
संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायका प्रमुख राफायल ग्रोसीले इजरायलको आक्रमणले इरानको नातान्जस्थित मुख्य आणविक संवर्धन प्लान्टको माथिल्लो भाग नष्ट भएको र रासायनिक तथा रेडियोलोजिकल प्रदूषण भएको बताए । यो प्रदूषण ‘नियन्त्रणयोग्य’ रहेको उनको भनाइ छ। ग्रोसीले नातान्जको भूमिगत हलहरूमा प्रत्यक्ष क्षति नभए पनि त्यहाँको विद्युत आपूर्तिमा क्षतिले सेन्ट्रीफ्युजहरूलाई असर गरेको हुन सक्ने बताए। साथै, फोर्डो र इस्फाहानस्थित आणविक सुविधाहरूमा पनि आक्रमण भएको इरानी अधिकारीहरूले बताएको टाइम्सले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायललाई ‘कठोर सजाय’ को चेतावनी दिँदै यो आक्रमणले इरानको सार्वभौमिकतामाथि आघात पुर्याएको बताएका छन्। इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानले ‘रातो रेखा पार’ गरेको र ‘आयतोल्लाह शासनले भारी मूल्य चुकाउनुपर्ने; चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिकाले इजरायललाई मिसाइलहरू प्रतिरोध गर्न सहयोग गरेको छ । यसका लागिं पूर्वी भूमध्यसागरमा तैनाथ अमेरिकी सैन्य सम्पत्तिहरू प्रयोग गरिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्