
काठमाडौँ २९ जेठ । भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटना हुँदा यात्रारत २४२ मध्ये २४१ जनाको निधन भएको छ । विमान दुर्घटनाका बेला उछिट्टिएर एक जना विश्वास कुमार रमेश बाँच्न सफल भएका छन् । उनी जहाजको सिट नं.११ मा सवारत रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ४० वर्षीय बेलायती नागरिक विश्वासले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा परेर बाँचेको बताएका हुन् ।


हिन्दुस्तान टाइम्सका अनुसार विश्वास परिवार भेट्न केही दिनका लागि भारत आएका थिए । उनी दाजु अजयकुमार रमेशसँग बेलायत फर्कंदै थिए । उनले भनेका छन्, ुटेकअफ भएको ३० सेकन्डमै ठूलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो ।ु भारतीय मिडियाहरूका अनुसार विश्वासको उपचार अहमदाबाद सिभिल अस्पताल भइरहेको छ ।
भारतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्