काठमाडौ २८ जेठ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज, बाँकेमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार दुई सयको सङ्ख्यामा करदाता निलम्बन भएका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले ती करदाताले विवरण नबुझाएकाले निलम्बन गरिएको जानकारी दिनुभयो । उनीहरुको संस्थाको कारोबार पनि रोक्का गरिएको छ ।
आन्तरिक राजस्व विभागले ६ महिनादेखि लगातार मूल्यअभिवृद्धि कर विवरण नबुझाएका करदादातालाई निलम्बन गर्दै आएको छ । बाँकेमा आठ हजारभन्दा धेरैको सङ्ख्यामा मूल्यअभिवृद्धिमा आबद्ध करदाता रहेका छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले यसअघि कानून अस्पष्ट हुँदा कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने बताउनुभयो । निलम्बन भएका फार्मसँग कुनै कारोबार नगर्न र कारोबार गरेमा समस्या पर्ने पनि उहाँले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्