काठमाठौ २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कसँगको विवादपछि आफ्नो टेस्ला कार बेच्ने मनसाय बनाउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि अर्बपति मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताउनुभएको थियो । ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार मिडियाको अगाडि देखाउँदै ट्रम्पले त्यो आफूले किनेको बताउनुभएको थियो । तर अहिले ट्रम्पले टेस्ला कार बेच्ने मनसाय बनाउनुभएको सीबीएसको रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले खर्चसम्बन्धी विधेयकलाई लिएर एलन मस्कले गरिरहेको विरोधप्रति हिजो असन्तुष्टि जनाउनुभएको छ । यो विधेयकले आफ्नो कम्पनी टेस्लामाथि क्षति पुर्याउन सक्ने भन्दै मस्कले विरोध गरिरहेका ट्रम्पको भनाइ छ । खर्चसम्बन्धी विधेयकले विद्युतीय गाडीमा कर छुट हटाउने खबरमा उल्लेख छ ।
अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच चर्को वाकयुद्ध चलिरहेको छ ।
यहीबीचमा ट्रम्पले सङ्घीय सरकारसँग ठूलो मात्रामा हुने मस्कको कारोबारको सम्झौतालाई लिएर धम्की दिनुभएको छ । यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाअभियोग लगाउन माग गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्