काठमाडौं १६ साउन । धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुल अत्यधिक वृद्धि गरेको छ । पालिका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको हो ।
खानेपानी महसुल वृद्धि गर्दा छलफल नभएको राजनीतिक दल र जनप्रतिनिधिहरूले बताएका छन् ।
मेयर हर्क साम्पाङले एकलौटी रुपमा महसुल वृद्धि गरेपछि जनप्रतिनिधिसहित राजनीतिक दलहरू असन्तुष्ट बनेका छन् । १० राजनीतिक दलहरूले बोर्डको नयाँ नियमविरुद्ध बिहीबारबाट चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
बिहीबार महसुल घटाउनका लागि सरोकारवालासँग छलफल गर्ने घोषणा गरेका दलले १८ गते सबै वडामा ध्यानाकर्षण पत्र बुझाउने र २० साउनबाट धर्ना सुरु गर्ने बताएका छन् ।
दलहरूले ११ साउनमा पुरानै महसुल कायम गर्न भन्दै बोर्डलाई ७२ घण्टे अल्टिमेटम दिएका थिए । बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरेको नेपाली कांग्रेस नगर सभापति श्याम पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्