काठमाडौं १० साउन । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०र०८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको हो।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क प्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौतीहरू रहेपनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले गत केही वर्षयता नेपाली जडीबुटीप्रति भारतको कडा रवैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै आएपनि व्यवसायीले उत्साहजनक रूपमा जडीबुटी निकासी गरेको बताउनुभयो ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा नेपालगन्ज नाकाबाट ७५ करोड ४६ लाख ५० हजार मूल्य बराबरको २६ लाख ६७ हजार ५३ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा यो नाकाबाट ८२ करोड ८० लाख २४ हजार मूल्यको जडीबुटी निकासी भएकोमा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा सात करोडको जडीबुटी कम निकासी भएको भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा जडीबुटी निकासीमा केही सहजता आएकोले चालु आर्थिक वर्ष २०८१(८२ मा यो नाकाबाट एक अर्बको जडीबुटी निकासी हुने अनुमान गरिएको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।
नेपालगन्ज कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै भारत लगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार यो नाकाबाट टिम्मुर, रिट्ठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधी, साबुन, स्याम्पु जस्ता सामाग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मूलकमा पनि निर्यात भइरहेको सङ्घले जनाएको छ ।
कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिट्ठा त्यहाँबाट खरिद गरी व्यवसायीहरूले विदेश निकासी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्