स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाका विद्यालयले शिक्षक आन्दोलनका कारण २ दिन स्थगित भएको पठनपाठन कार्य दशैं विदामा गर्ने भएको छ ।
गाउँपालिकाले शिक्षक आन्दोलनका कारण २ दिन पढाई स्थगित भएको र स्थगित भएको पढाई दशैं घटस्थापनापछि सञ्चालन गर्न विद्यालयहरुलाई परिपत्र गरेको छ ।
गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते पठनपाठन स्थगित हुँदा विद्यार्थीको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन पठनपाठन गर्न गराउन गाउँपालिकाले परिपत्र गरेको हो ।
गाउँपालिकाले सवै सामुदायिक विद्यालयलाई घटस्थापनापछि असोज २९ र ३० गते पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।
शिक्षकहरुले शिक्षा विधेयकको विरोध गर्दै राजधानी काठमाडौंमा आन्दोलन गरेपछि २ दिन देशैभरका सामुदायिक विद्यालयको पठनलेखन कार्य हुन सकेको थिएन ।
विद्यार्थीको पढाइलाई मध्यनजर राखेर दशैं बिदामा २ दिन पढाउने निर्णयका साथ पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख रामचन्द्र गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्