बर्दिया, ६ जेठ । बर्दियामा सर्पले डसेकोलाई प्रार्थना र झारफुकको माध्यमबाट निको गराउने भन्दै एक महिलाले उपचार गराउन खोज्दा किशोरीको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका(२ महादेवाकी ती किशोरीलाई जेठ २ गते राति भुईंमा सुतेको समय सर्पले डसेको थियो ।स्थानीय पास्टर यमुना भन्ने योगेन्द्रकुमारी घर्तीले प्रार्थना र झारफुकको माध्यमबाट सञ्चो हुने भन्दै खुर्सानी खुवाउन लगाएको प्रहरीले बताए । १६ वर्षीया किशोरी ओमकुमारी डांगीलाई योगेन्द्रकुमारीको कुरामा विश्वास गर्दै खुर्सानी खुवाइएको प्रहरीले जनाएको छ ।सर्पले डसेपछि तत्काल अस्पतालमा उपचार गराउनुको साटो अन्धविश्वासको भर पर्दा किशोरीको ज्यान गएको इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधीरकुमार खड्काले बताए ।
गम्भीर अवस्थाकी डांगीलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुराइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले डसेकी किशोरीलाई तत्काल उपचार गर्न अस्पताल जान सिफारिस नगरी झारफुक गरी निको पार्छु भन्ने योगेन्द्रकुमारीविरुद्ध मृतकका किशोरीका आफन्तले किटानी जाहेरी दिएका छन् ।
प्रहरीले आरोपित घर्तीलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । आरोपितविरुद्ध जिल्ला अदालत बर्दियाबाट सात दिनको म्याद थप गरी मुद्दामा आवश्यक अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाएको छ ।








प्रतिक्रिया दिनुहोस्