काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन्।
उनले संविधानको धारा १०० को उपधारा दुईबमोजिम विश्वासको मत लिन लागेका हुन्। उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचनपछि विश्वासको मत लिँदा झमेला आइपर्ने भएकाले अगाडि नै लिने तयारी छ। ‘प्रधानमन्त्रीज्यूले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। सोही अनुसार उहाँले २५ गते अगाडि नै विश्वासको मत लिने तयारी गर्नुभएको छ,’ सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर मात्रै मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन्।
विश्वासको मत लिनु अगावै मन्त्रिमण्डल पुनर्गठन गर्दा दलहरूबीच झमेला हुने माओवादी केन्द्रका एक सांसदले बताए। ‘यसअघि पनि प्रधानमन्त्रीज्यूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल पुर्नगठन गर्नुभएको थियो। यसपटक पनि त्यही गर्नुहुन्छ। राष्ट्रपतिको निर्वाचन पछाडि विश्वासको मत लिँदा झमेला व्यहोर्नुपर्छ। यसबारे प्रधानमन्त्रीज्यू सचेत हुनुहुन्छ,’ ती सांसदले भने। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धन दलहरूबीच छलफल भइरहेकाले केही दिनभित्रै टुंगो लाग्ने बताए। ‘नेकपा एमाले आज मात्रै सरकारबाट बाहिरिएको छ। प्रधानमन्त्रीज्यूले छलफल गर्न पाउनुभएको छैन। केही दिनभित्रै विश्वासको मत लिनेबारे निर्णय गर्नुहुन्छ,’ उनले भने।
गत पुस १० गते नेकपा एमालेसहित १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। उनले नेपाली कांग्रेसहितका दलहरूबाट २६८ मत पाएका थिए। फागुन १२ गते ८ दलीय गठबन्धन बनेसँगै प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।
प्रचण्ड नेतृत्वको सरकारलाई ८ दलका १५३ जना सांसदको साथ रहेको छ। प्रधानमन्त्रीसँग नेपाली कांग्रेस ८८, नेकपा माओवादी केन्द्र ३२, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, नागरिक उन्मुक्ति ४ र राष्ट्रिय जनमोर्चा एकसहित १५३ सांसदको साथ छ।








प्रतिक्रिया दिनुहोस्