ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्वको १ वर्ष :कसले के पाए, के गुमाए?


एबीसी न्यूज

गत फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्वको १ वर्ष वित्दा पनि युद्ध रोकिने कुनै सङ्केत छैन । गएको सेप्टेम्बरमा झन्डै छ हजार रुसी सैनिकको ज्यान गएको बताएपनि त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर सम्ममा १० देखि १३ हजारसम्म युक्रेनी सैनिकको ज्यान गएको जनाएको छ । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने बताएको छ । यद्यपि ज्यान गुमाउने गैरसैनिकको सङ्ख्याको बारेमा भने भएको छैन । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र धरासयी अवस्थामा पुगेको छ । रुसले गत २४ फेब्रुअरीमा अत्याधुनिक हतियार र करिब २ लाख आधुनिक सेनासहित युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुगेको छ ।

यसबीचमा दुवैतर्फ गरी खर्बौंको भौतिक क्षति भएको छ भने लाखौंको ज्यान गइसकेको छ । रुस–युक्रेन युद्वको १ वर्ष वित्दा पनि युद्ध रोकिने कुनै सङ्केत छैन । रुसी रक्षा मन्त्री सेर्गेई सोइगुले गएको सेप्टेम्बरमा झन्डै छ हजार रुसी सैनिकको ज्यान गएको बताएपनि त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजारसम्म युक्रेनी सैनिकको ज्यान गएको जनाएका थिए । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने बताएको छ । यद्यपि ज्यान गुमाउने गैरसैनिकको सङ्ख्याको बारेमा भने स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण विश्व अर्थतन्त्र धरासयी अवस्थामा पुगेको छ । यद्यपि रुस–युक्रेन युद्व रोकिनुको साटो अझै लम्बिने आशंका हुन थालेको छ । यतिबेला युक्रेनलाई सघाइरहेको पश्चिमा गठबन्धनमा चाहिँ कठिन बहस भइरहेको छ । गत साता म्युनिख सेक्युरिटी फोरमको सार्वजनिक कार्यक्रमहरुमा पश्चिमा नेताहरुले आत्मविश्वास र संकल्प प्रदर्शन गरे । उनीहरुले दिएको सन्देश मा ‘विजयतर्फ अघि बढौँ’ र ‘युक्रेनलाई निःसर्त सहयोग गरौँ’ भन्ने सन्देश थियो । रुस युद्ध आक्रमणको पूर्वसन्ध्यामा कल्पना गरिएको भन्दा निकै खराब विन्दुमा पुगेको छ ।

त्यतिबेला रुसले युद्ध चाँडै जित्ने आँकलन गरिएको भएपनि अहिले रुस जटिलतामा फस्न पुगेको मात्रै छैन उसले भारी क्षतिसमेत व्यहोरेको छ । तर रुसी सेनाले अपेक्षाभन्दा खराब प्रदर्शन गरे पनि रुसी अर्थतन्त्रले भने निकै राम्रो प्रदर्शन गरेको छ । पश्चिमा नाकाबन्दी लगाइँदै गर्दा ठानिएको थियो । रुसको अर्थतन्त्र २० प्रतिशतभन्दा बढीले खुम्चिनेछ । तर, गत वर्ष रुसको अर्थतन्त्र ३–४ प्रतिशतले मात्र खुम्चिएको बताइएको छ । जबकि अबको वर्ष अर्थतन्त्र वृद्धि हुनेछ । पश्चिमा देशको प्रतिबन्धका बाबजुद रुसको अर्थतन्त्र बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले अत्यावश्यक वस्तुलगायत रोजगारी र नागरिकको सुरक्षा सुनिश्चित गरेको दाबी समेत गरेका छन् । राष्ट्रपति पुटिनले सङ्घीय सभालाई आफ्नो वार्षिक सम्बोधनका क्रममा प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैंलाई समस्यामा पारेको समेत टिप्पणी गरेका थिए । उनले आफूहरुले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेको, नागरिकको सुरक्षा गरेका, रोजगारी बचाएको अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेको उनको दावी छ । रुसविरुद्धको नाकाबन्दी विश्वव्यापी नबनेको कारणले पनि उसलाई यो नाकाबन्दीको असर छल्न तुलनात्मक रुपमा सहज भएको देखिन्छ । त्यसविपरीत, युक्रेनकोे अर्थतन्त्र भने निकै ठूलो संकटमा छ । युक्रेन पूर्ण रुपमा पश्चिमा सहयोगमा निर्भर छ । यसै साता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो कुनै पनि भू–भाग नदिने बताउँदै उनले पश्चिमा देशको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गरेका थिए । उनले वसन्तयामको आक्रमण सुरु भइसकेको भन्दै युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताएका थिए । युद्ध कहिले अन्त्य हुन्छ भन्ने बीबीसीको प्रश्नमा उनले युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको जवाफ दिएका थिए ।

यतिखेर लडाइँको मैदानमा रुसले द्वन्द्वलाई थप चर्काउने सम्भावना ज्यादा छ । पश्चिमा देशहरुले चीनले आफ्नो अडान परिवर्तन गर्न सक्छ र रुसलाई हतियार आपूर्ति सुरु गर्न सक्ने बताउँदै आएका छन् । युक्रेनलाई सघाइरहेको शक्ति राष्ट्र अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई आग्रह नै गरेको छ । चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दाबी गरेकै समयमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी कीएभ पुगे । एक वर्षअघि रुसले आक्रमण गरेपछि उनको यो पहिलो युक्रेन भ्रमण थियो । यसअघि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न गएका थिए । तर त्यहाबाट उनी अचानक कीएभ पुगेका थिए । यता राष्ट्रपति बाइडेनले युक्रेनलाई अमेरिकाको समर्थन जारी राख्ने बताएका छन् ।

यतिबेला बेलुन विवादका कारण अमेरिका र चीनबीच अविश्वास बढ्दै गएको छ । बढ्दो विवादकाबीच अमेरिकाले राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन समेत दिएको छ । राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन् । चीनले भने अमेरिकी आकाशमा भेटिएका बेलुन जासुसी नभएको दाबी गर्दै आएको छ । चीन अमेरिकाबीच विवाद भइरहेका बेला ताइवानको आकाशमा पनि चिनिया“ बेलुनले जासुसी गरिरहेको खबर सार्वजनिक भएको छ ।

अनि सिंगो विश्व इतिहासलाई यो अतिक्रमणले कुन दिशा दियो?

सुरूमा एउटा प्रष्टीकरण— युद्ध अझै जारी छ र यो कसरी टुंगिएला भन्ने अझै यकिन छैन। यो एक वर्षका लागि यहाँ गरिएको विश्लेषण युद्धको बाँकी अवधिबारे प्रक्षेपण गर्न अनुपयोगी पनि ठहर्न सक्नेछ।

यो युद्धका बाह्र महिनामा रूसले धेरै गुमायो।

एक, विश्वस्तरको भनेर युरोपेली र अमेरिकीहरू समेत थर्कमान हुने गरेको रूसी सैन्यको साख धूलोमा मिल्यो। शान्तिकालमा पर्दापछाडि लुकिबसेको रूसी सैन्य बलभित्रको भ्रष्टाचार र अव्यवस्था युद्धसँगै छताछुल्ल भएर सतहमा आयो। बख्तरबन्द गाडीका कमसल र वर्षौंदेखि प्रयोगमा नरहेका टायरदेखि कामै नगर्ने रूसी सैन्य सञ्चार प्रणालीबारे सिंगो संसारले जानकारी पायो।

सुरक्षित सञ्चार प्रणालीको अभाव रूसलाई कतिसम्म खट्कियो भने युद्धको वर्ष दिन बित्न लाग्दासमेत रूसी सेनाहरू युक्रेनी सञ्चार पूर्वाधार प्रयोग गर्न बाध्य छन्। यही नयाँ वर्षको संघारमा त्यसरी नै युक्रेनी नेटवर्कबाट घरमा फोन गरेका रूसी सैनिकहरूको ठेगाना पत्ता लगाएर युक्रेनले आक्रमण गर्दा सयौंको हताहती भएको मानिन्छ।

युक्रेनले चार सय जना मारिएको दाबी गरेको त्यो आक्रमणमा ६३ जना मारिएको भनेर रूसले समेत स्वीकार गरेको थियो भने रूसी सेनानिकट ब्लगरहरूले ७० जना मारिएको र सय जना घाइते भएको स्वीकार गरेका थिए।

वर्षभरमा दुवै पक्षले कति सैनिक गुमाए भन्ने यकिन आँकडा छैन। तर अमेरिकी गुप्तचर संरचनाको अनुमानमा यो युद्धमा मारिने र घाइते हुने रूसी लडाकुहरूको संख्या कम्तीमा दुई लाख छ। दुवैपट्टि कम्तीमा एक, एक लाख लडाकुहरू मारिएको अनुमान छ।

सुरूको अतिक्रमणका केही साताभित्रै रूसले चाहे झैं किभमा विजय हासिल गर्न नसके पनि दक्षिण युक्रेनको खेर्सन सहर, जापारोज्या प्रान्तमा रहेको युरोपकै ठूलो आणविक भट्टीसहितको भूभाग अनि पूर्वी प्रान्तहरू; डोनेस्क, लुहान्स्क र खार्किभका उल्लेख्य हिस्सामा नियन्त्रण जमाउन पुगेको थियो। तीमध्ये डोनेस्क प्रान्तको मरिउपोल ठूलो रणनैतिक महत्वको सहर थियो।

तर त्यसपछिका महिनाहरूमा किभ वरिपरिको भूभागबाट फिर्ता हुँदा रूसलाई पहिलो झट्का लागेको थियो भने त्यसको केही महिनापछि युक्रेनले नाटकीय प्रत्याक्रमणमार्फत पूर्वी युक्रेनको खार्किभमा केही दिनमा रूसी पक्षलाई सयौं किलोमिटर पछि धकेल्यो। त्यो दोस्रो झट्का यति अनपेक्षित थियो कि रूसभित्र त्यसले ठूलै तरंग ल्यायो। त्यसको जवाफमा पुटिनले रूसभर आंशिक ‘ड्राफ्ट’ घोषणा गरेर कम्तीमा थप तीन लाख युवाहरूलाई अनिवार्य रूपमा युद्धमा जान बाध्य पारे।

रूसभर सापेक्षतः सामान्य रहेको जनजीवनमा एकैचोटि ठूलो उथलपुथल आयो। केही दिनमै लाखौं रूसी युवाहरू सैन्य सेवाबाट बच्न देशै छाडेर हिँडे।

त्यसको केही समयमा युक्रेनले रूसी फौजलाई दक्षिण युक्रेनको रणनैतिक महत्वको सहर खेर्सनबाट पनि खेद्न सफल भयो।

त्यति हुँदाहुँदै पनि अहिले पूर्वी युक्रेनका मरिउपोल सहर (भग्नावशेष) सहितको डोनेस्क र लुहान्स्कको ठूलै भूभाग, मेलिटोपोल सहरसहित जापारोज्या प्रान्तको केही भूभाग, तिनलाई क्राइमियासित जोड्ने जमिनको साँघुरो हिस्सा, अजोभ सागरको पूरै तट र क्राइमिया प्रान्त रूसको नियन्त्रणमा छन्।

तर त्यो भूभागमध्ये क्राइमिया पूरै अनि डोनेस्क र लुहान्स्कको ठूलो हिस्सा सन् २०१४ देखि नै रूसको वा ऊसमर्थित मिलिसियाको नियन्त्रणमा थिए। त्यसैले सिंगो सैन्य शक्ति लगाउँदा पनि यो एक वर्षमा रूसले युक्रेनको असाध्य सानो थप भूभाग मात्रै कब्जा गर्न सकेको छ। त्यति उपलब्धिका लागि उसले प्रयोग गरेको र नष्ट भएका हातहतियारबारे रूस र युक्रेनका आआफ्नै दाबी छन्।

तर एउटा विशेषज्ञ संस्था ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटजिक स्टडिज’ ले हालै सार्वजनिक गरेको एउटा विश्लेषणअनुसार रूसले आफूसित भएका २९१७ ट्यांकमध्ये झण्डै ३८ प्रतिशत अर्थात् ११२७ वटा ट्यांक गुमाएको छ। उसको मुख्य ट्यांक मोडल टी–७२बी३ का आधा जति ट्यांक गुमिसकेका छन्। यसबीच रूसबाट कब्जा गरेका समेत गरी युक्रेनले उल्टै आफूसित भएको ट्यांकको संख्या बढाएको मानिन्छ।

यो वर्ष युक्रेनले ब्ल्याक सीस्थित रूसी जलसेनाको मुख्य युद्धपोत ‘मस्क्भा’ लाई सयौं सैनिकहरूसहित डुबाउनुका साथै क्राइमिया र रूसको मूल भूभागमा रहेका विभिन्न सैन्य अड्डाहरूमा ड्रोन हमला गरेर धेरै लडाकु विमान ध्वस्त बनाइदियो। पुटिनले प्रतिष्ठाको विषय बनाएको रूस र क्राइमिया जोड्ने विशाल पुलमा समेत युक्रेनले हमला गरेर उल्लेख्य क्षति पुर्‍याइदियो।

यसबीच रूसी सेनाले युद्ध मैदानमा नराम्रो पराजय मात्रै बेहोरेको छैन, रूसभित्रैबाट उसका कमाण्डरहरू र सिंगो संस्थामाथि प्रहार भएका छन्। पुटिनको तर्फबाट लडिरहेका ज्यालादारी सैन्यहरूको समूह वाग्नर ग्रुप र चेचेन युद्ध सरदार रम्जान कादिरोभको मिलिसियाका टेलिग्राम च्यानलहरूले युद्धमोर्चाको पराजयका लागि नामै तोकेर रूसी जनरलहरूको निन्दा गरेका छन्। दुई पक्षबीचको विवाद र तिक्तता बारम्बार सतहमा आएको छ।

रूसलाई जिताउन भनेर लडिरहेका फौजहरूबीच अझै पनि कति असमझदारी र तिक्तता छ। यही फेब्रुअरी २० तारिखमा वाग्नर ग्रुपका प्रमुख एभ्गेनी प्रिगोझिनको प्रेस अफिसले सार्वजनिक गरेको सात मिनेटको अडियोमा उनले ‘रूसी सेनाले आफूलाई चाहिने हतियार नदिएको’ र रूसी सेनाप्रमुख र रक्षामन्त्रीले देशद्रोह गरेको आरोप लगाएका छन्।

दुई, रूसको हार युद्ध मैदानमा सीमित रहेन।

कुनै बेला चीनको हाराहारी र केही सैन्य प्रविधिमा चीनभन्दा अघि रहेको मानिने रूसले मध्य–एसियाको ठूलो भूभागलाई आफ्नो प्रभाव क्षेत्र मान्थ्यो र त्यहाँ उसको चीनसित प्रतिस्पर्धा थियो। तर अब त्यहाँका धेरै देशहरूमा उसको साख र प्रभाव दुवै गुमेको छ।

त्यसको एउटा मानक— केही वर्षअगाडि अजरबैजानले आर्मेनियामाथि आक्रमण गर्‍यो र नगर्नो–काराबाख क्षेत्रको ठूलो हिस्सामा कब्जा जमायो। नेटोलाई टक्कर दिन भनेर रूसले बनाएको सिएसटीओ (कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन) को सदस्यका हैसियतले आर्मेनियाको बचाउमा रूस आउनु पर्ने थियो। तर ढिलो गरेर त्यहाँ पुगेको रूसले आर्मेनियाका तर्फबाट लड्ने होइन, उसको थप जमिन कब्जा हुनबाट रोक्न दुई पक्षका मोर्चाबीचको भागमा सानो संख्यामा सैन्य परिचालन गर्‍यो।

जसै युक्रेनमाथि रूसको अतिक्रमण सुरू भयो, रूसी ‘शान्ति सेना’ त्यहाँबाट फिर्ता भए। अजरबैजानले आर्मेनियाको थप भूमि ओगट्यो। रूस नेतृत्वको सैन्य गठबन्धनमा हुनुको आर्मेनियालाई कुनै फाइदा भएन।

रूसको अदबका कारण पारस्परिक वैमनस्यका बाबजुद शान्तिपूर्वक बस्न सिकेका किर्गिस्तान र ताजिकिस्तान पनि यही वर्ष संक्षिप्त भीडन्तमा सामेल भए। कम्तीमा ८३ को मृत्यु भयो र लाखभन्दा बढी मानिस विस्थापित भए।

अघिल्लो वर्षमा महँगीको विरूद्ध सडकमा उत्रेका नागरिकलाई दबाउन सिएसटिओमार्फत रूसी सुरक्षा बलको सहयोग लिएको कजाखास्तानले समेत युक्रेनमाथिको अतिक्रमणमा रूसलाई कुनै सहयोग गरेन। उल्टै रूसले युक्रेनका डोनेस्क र लुहान्स्क प्रान्तको स्वतन्त्रतालाई मान्यता दिन गरेको आग्रहलाई ठाडै अस्वीकार गर्‍यो।

तीन, रूस चाहन्थ्यो— युक्रेनमा हितैषी शासन स्थापना गरेर नेटोलाई सकेसम्म टाढा धकेल्न सकियोस्।

तर यो युद्धसँगै शीतयुद्धभर तटस्थ बसेको फिनल्यान्ड र उसको छिमेकी स्वीडेनले नेटोमा जोडिन औपचारिक आवेदन दिए। हाल टर्कीले गरिरहेको अवरोध पार गरेर ती देश नेटोमा जोडिए भने युक्रेनसितभन्दा लामो सीमा जोडिएको फिनल्यान्डसम्म, अर्थात् रूसको दैलोमै नेटोको सैन्य उपस्थिति आइपुग्नेछ।

नेटोलाई युक्रेनमा आउन नदिएर पर धकेल्ने पुटिनको सामरिक लक्ष्य यसरी पूरापुर असफल हुने मात्र होइन, त्यस हिसाबले रूसका लागि यो युद्ध प्रत्युत्पादक हुने संघारमा छ।

चार, अघिल्लो वर्षको फेब्रुअरीमै युक्रेनमाथि आक्रमण गर्नुमा पुटिनको दुई खाले हिसाबलाई निर्णायक मानिन्छ। एकातिर पुटिनले पछिल्ला दशकहरूमा पेट्रोलियम बेचेर विशाल धनराशी जम्मा गरेका थिए तर संसारभरका देशहरुरूले नवीकरणीय ऊर्जा अँगाल्दै गएसँगै त्यसबाट हुने आम्दानीको भविष्य साँघुरिँदै थियो। अर्कोतिर रूसको घट्दो जनसंख्याका कारण जति पछि भयो, ठूलो सेना बनाउन र यस खाले अतिक्रमण गर्न झन् कठिन हुँदै जान्छ भन्ने पुटिनलाई बोध थियो।

त्यसैले पुटिनले ‘नोभो–रस्या’ वा नयाँ रूस भन्ने गरेको रूसीभाषी युक्रेनीहरू बस्ने लगायतका भूभाग रूसमा फर्काएर विगतमा गुमेको रूसी साम्राज्यको साख फर्काउने यो अन्तिम अवसर हो भन्ने उनलाई लागेको हुनुपर्छ भन्छन् विश्लेषकहरू।

तर यो युद्धसँगै एकतिर सिंगो युरोपले रातारात जस्तै रूसी ग्यासमाथिको निर्भरता त्याग्न सफल भयो। खास गरी रूसी ग्यासका लागि युरोपको असाध्य लाभदायी बजार सदाका लागि गुम्यो भने भारत र चीनजस्ता देशलाई पनि चर्को छुट दिएर मात्रै पेट्रोलियम बेच्न पुटिन बाध्य भए। युरोप र अमेरिकाको नाकाबन्दीका कारण रूसको खनिज ऊर्जाका ठूला भण्डारहरू अब सधैंका लागि जमिनमै रहने अनि कतार लगायत रूसका प्रतिस्पर्धी ग्यास आपूर्तिकर्ताहरू मालामाल हुने अवस्था बन्दै  गएको छ।

त्यस्तै युद्धमा मारिने, घाइते हुने र पलायन हुने गरेर रूसका बीसौं लाख युवाहरू हठात् त्यहाँको आर्थिक गतिविधिबाट अलग्गिने, त्यहाँको जनसंख्याको संकट गहिरिने र अर्थतन्त्रको उत्पादकत्व घट्ने अवस्था सिर्जना भएको छ।

यति कुरा गुमाएर बदलामा रूसले के पायो?

विश्लेषकहरू भन्छन्— रूसले धेरै कुरा गुमाए पनि पुटिनले यसबीच धेरै कुरा पाएका पनि छन्। युद्धको बहानामा उनले देशमा आफूले चाहे झैं ‘सेन्सरसिप’ को फलामे ढोका खडा गरेका छन्। आलोचकहरू देशबाटै खेदिइसकेका छन्। स्वतन्त्र मिडियाको नामनिशान मेटिएको छ। युद्ध मैदानको यत्रो हारका बाबजुद उनको पद अझै सुरक्षित छ।

खास गरी वाग्नर ग्रुपले दुश्मनको कब्जामा परेपछि युद्धबन्दी साटासाटमा फिर्ता आएका लडाकुहरूलाई दण्ड दिने क्रुर विधि विकसित गरेको छ। तीमध्ये केहीलाई क्यामराको अगाडि घनले टाउको फुटाएर मृत्युदण्ड दिइएको मात्र छैन, उक्त मिलिसियासम्बद्ध टेलिग्राम च्यानलहरूले त्यस्ता भिडियो खुब ‘भाइरल’ बनाएका छन्। ताकि मोर्चामा खटिएका अरू लडाकुले त्यस्तै सजायको भयले आत्मसमर्पण नगरून्।

रूसी पक्षको यस्तो व्यवहारले विश्वभरका मानिसलाई कथित ‘इस्लामिक स्टेट’ आतंककारी समूहका निर्मम हर्कतहरू सम्झाएको छ र व्यापक निन्दा पनि भएको छ। तर देशको सिंगो जनसंख्यालाई भयको पर्खालमा बन्द गर्न र मोर्चामा खटिएका लडाकुहरूलाई आत्मसमर्पणबाट रोक्न भने त्यस्ता उपाय सम्भवतः प्रभावकारी पनि बनेका छन्।

अब छोटकरीमा युक्रेनले यो एक वर्षमा के पायो र के गुमायो हेरौं।

युक्रेनको ठाउँबाट नाफा-नोक्सानको हिसाबकिताब बुझ्न यो लेखको सुरूमा उल्लिखित काल्पनिक अवस्थामा फेरि फर्कनुपर्ने हुन्छ।

अघिल्लो वर्ष फेब्रुअरी महिनाको अन्तिम हप्तामा पुटिनले चाहे झैं युक्रेनमाथि रूस हावी भएर यानुकोभिच राष्ट्रपति भएको भए दुई अवस्था आउन सक्थे।

एक, क्राइमियामा झैं ठूलो तत्कालीन प्रतिरोधबिनै रूसमैत्री नयाँ प्रशासनले सिंगो युक्रेनमा शासन गर्थ्यो।

दुई, युक्रेनी सेनाको उल्लेख्य हिस्सा पश्चिम युक्रेनतिर गएर पुनगर्ठित हुन सक्थ्यो अनि यानुकोभिचको सरकारविरूद्ध गुरिल्ला युद्ध सुरू गर्न सक्थ्यो। पश्चिम युक्रेनको लभिभमा केन्द्रित विद्रोही पक्षले पश्चिमा देशहरूको सहयोगले किभमा केन्द्रित पूर्वी युक्रेनलाई चुनौती दिँदै गर्दा लामो र रक्तपातपूर्ण गृहयुद्ध चल्न सक्थ्यो।

सिंगो युक्रेन निप्रो नदीको वारि र पारि गरेर दुई चिरा बन्न सक्थ्यो। तिनीहरूबीच दुई कोरियाको बीचमा झैं वर्षौंको लडाइँ र दशकौंको तिक्ततापूर्ण सम्बन्ध बन्न सक्थ्यो!

युक्रेनमा आजका दिनमा प्रशस्त चुनौतीहरू छन्, गरिबी र असुरक्षा छ। जाडो छ, भोक र अभाव छ। तर पनि युक्रेनी मनोविज्ञानमा यो परिणाम माथिका दुवै अवस्थाभन्दा धेरै गुणा राम्रो लागेजस्तो देखिन्छ।

संसारभरका वामपन्थी र उग्र दक्षिणपन्थीहरूले चाहे झैं युक्रेनले रूससित आत्मसमर्पण गरेको भए वा सिधा हार बेहोरेको भए एक त हिंसा र हताहती अहिलेको भन्दा कम हुने कुनै ग्यारेन्टी थिएन। अर्कोतिर अव्यवस्था र भ्रष्टाचारको बिगबिगी बीच पनि स्वतन्त्रता र लोकतन्त्रको स्वाद चाखिसकेका युक्रेनीहरू तिनलाई गुमाउन चाहँदैन थिए। दशकौंदेखि उनीहरूले रूस र युरोप दुवैसँग स्थिर र रचनात्मक सम्बन्ध चाहन्थे। तर समाज विकास भएर रूसजस्तो होइन युरोपजस्तो होस् भन्ने चाहन्थे।

क्लबहाउस लगायतका माध्यमहरूमा आम युक्रेनीहरूका कुरा सुन्दा उनीहरू के भन्छन् भने— सम्भावित रूसपक्षीय शासक यानुकोभिच, जसको सरकारले सन् २०१४ को मैदान विद्रोहका बेला सय प्रदर्शनकारीको हत्या गरेको थियो, उनमा उनीहरूले सुरूदेखि नै बेलारूसका तानाशाह अलेक्जाण्डर लुकाशेन्कोको छाया देख्दै थिए। केही वर्षअगाडि लुकाशेन्कोले चुनाव हारे पनि सत्तामा टिकिरहन रूसी सेना बोलाएर आफ्नै लाखौं नागरिकहरूमाथि दमन गराएका थिए।

त्यसैले नेपाल लगायत धेरै देशका वामपन्थीहरूले अहिले युक्रेनीहरूलाई रूस–अमेरिका द्वन्द्वको घानमा परेको ‘विचरा’ हरू भनेर गर्ने गरेको चित्रणमा उनीहरूको विमति छ। उनीहरूलाई लाग्छ, यो युद्ध रूस र नेटोबीचको ‘प्रोक्सी’ द्वन्द्व नभई युक्रेनीहरूकै स्वाभिमान, स्वतन्त्रता र बाँच्ने अधिकारको लडाइँ हो।

अब विश्व परिवेशमा यो युद्धका कारण के के फेरबदल भयो भने संक्षिप्त चर्चा।

एक, संसारभर यो युद्धका कारण भोकमरीमा पर्ने मानिसहरूको संख्या अकासिन पुग्यो। रूस र युक्रेन दुवै देश संसारकै प्रमुख खाद्यान्न निर्यातक रहेकोमा युक्रेनबाट हुने अन्न निर्यातमा यो वर्ष भारी गिरावट आयो। इन्धनमा भएको मूल्यवृद्धिसँगै सबै वस्तुहरूको मूल्य अकासियो। युरोपका धनी देशहरूले सयौं अर्ब डलर खर्चेर आफ्ना नागरिकहरूमाथि त्यस्तो महँगीको मारलाई केही मत्थर गर्न सके। अफ्रिका र एसियाका धेरै देशमा गरिबी र भोकमरी दुवैको अवस्था थप भयावह बन्यो।

विश्व खाद्य कार्यक्रमका अनुसार सन् २०२२ को अन्ततिर चरम् खाद्य असुरक्षामा रहने मानिसहरूको संख्या साढे ३४ करोड पुग्यो। त्यो संख्या सन् २०१९ को उही आँकडाभन्दा दोब्बर हो। कोभिडले थङ्थिलो बनाएका धेरै देशका विपन्न मानिसहरूलाई यो संकटले थप गरिबीतिर धकेल्यो। श्रीलंकाजस्ता केही देशका अर्थतन्त्रहरूले त यसबीच घुँडा नै टेके। पाकिस्तान लगायत अरू थुप्रै देश त्यस्तै संकटको संघारमा छन्।

दुई, खनिज ऊर्जाबाट नवीकरणीय ऊर्जातिरको संक्रमणमा भने यो युद्धले समग्रमा सकारात्मक प्रभाव पार्न पुग्यो।

पहिल्यै त्यस्तो संक्रमण सुरू गरिसकेको युरोपले यो एक वर्षमा त्यस दिशामा ठूलो छलाङ लगायो। कतिपय विश्लेषक भन्छन्— सफा ऊर्जातिरको संक्रमणमा जुन काम हुन दशकभरको समय लाग्न सक्थ्यो, त्यो एकै वर्षमा भयो। युरोपले रूसी ग्यासको वैकल्पिक स्रोत मात्रै खोजेन, ऊर्जाको खपतमै भारी कटौती गरेर समग्रमा कार्बन उत्सर्जन कटौतीका लागि ‘ब्लुप्रिन्ट’ सिर्जना गर्‍यो। संसारका सबै खनिज ऊर्जा आयात गर्ने देशहरूले नवीकरणीय ऊर्जाको विकासलाई राष्ट्रिय सुरक्षाकै विषय झैं प्राथमिकता दिन बाध्य भए।

तीन, चीनले यो युद्धमा रूसतिर ढल्केको तटस्थता देखाउन पुग्यो भने पहिल्यै ओरालो यात्रामा रहेको अमेरिका–चीन सम्बन्धले यस वर्ष थप ठाडो छलाङ लगायो। त्यसले दुवै पक्षबीचको खटपट कुनै पनि बेला द्वन्द्वमा बदलिन सक्ने जोखिम बढाएको छ। अमेरिका र चीनबीच नयाँ शीतयुद्ध जस्तो अवस्था सिर्जना हुँदै गर्दा त्यसले नेपालजस्ता देशहरूका लागि भूराजनीतिक जोखिम बढाउन पुगेको छ।

अन्तमा यो युद्धबारे सुरूदेखि नै केही विचारोत्तेजक लेखहरू छपाएका इतिहासकार युवल नोआ हरारीले ‘द एटलान्टिक’ का लागि लेखेको ‘द इन्ड अफ द न्यु पिस’ शीर्षक लेखको निचोड अहिले थप सान्दर्भिक बनेको छ— मानव जातिलाई भ्लादिमिर पुटिनले त्यस्तो युद्धको युगतिर डोर्‍याउँदै छन् जुन हामीले आजसम्म देखेका कुनै पनि कुराभन्दा खराब हुन सक्छ। यो युद्धका कारण मानिस जातिको अस्तित्व नै जोखिममा पर्न सक्छ!

हरारीको यो निचोड पुष्टि हुने गरी केही दिनअगाडि रूसी राष्ट्रपति पुटिनले झण्डै दुई घन्टा लामो भाषण गरे। त्यसको सार— सिंगो रूसी अर्थतन्त्र अब यो युद्धको अनुकूल हुने गरी पुनर्संरचना हुनेछ र यो युद्ध जित्न रूसले कुनै पनि मूल्य चुकाउनेछ।

त्यसको अर्थ हुन्छ— पहिलो र दोस्रो विश्वयुद्धको जस्ता वर्षौं लामो र भीषण युद्धको अवस्थाबाट गुज्रन सिंगो विश्व अभिशप्त हुनेछ। रूसले हातहतियार र सेना विकासमा निरन्तर खर्च बढाएसँगै युरोप र अमेरिका पनि त्यसै गर्न बाध्य हुनेछन्।

अमेरिका र रूसबीचको हतियार कटौतीसम्बन्धी रणनीतिक सम्झौताको अन्तिम कडी त्यही भाषणमार्फत पुटिनले टुटाइसकेका छन्। त्यसैले पनि दुवैतिर अब सुरक्षा र हतियार विकासको बजेट थप बढ्नेछ। सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरूको बजेट खुम्चिनेछ।

त्यो अवस्थामा स्वतः नेपालजस्ता अविकसित देशहरूका लागि विकसित देशहरूबाट जाने आर्थिक सहायता खुम्चिनेछ। संसारभर महँगी, आर्थिक सुस्तता, बेरोजगारी र भोकमरीको दौर अरू लम्बिएर जानेछ। मानिस जातिलाई महाविपदको ढिकमै पुर्‍याएको जलवायु संकट मत्थर गर्न नभई नहुने विश्वव्यापी समन्वय र सहकार्य असम्भव हुनेछ।

अनि कथमकदाचित् आणविक हतियारहरू प्रयोगको अवस्था आइहाल्यो भने सिंगो मानव सभ्यता संकटमा पर्नेछ,  यसरी हेर्दा रुस युक्रेन आपसमा लडिरहेको युद्वमा ठूला शत्तिशाली देश अमेरिका र चीनको युद्व भइरहेको देखिन्छ । रुस र युक्रेनको प्रयोग गर्दै यी ठूला देशहरुले आफ्नो हतियारको परीक्षण गर्दै शक्ति प्रदर्शन गरिरहेको देखिएको छ । हाल परिस्थिति यस्तो बनेको छ कि, रुस र युक्रेनले यी सबै बुझेर पनि निरीह हुँदै सैन्य परीक्षा दिइरहनुपरेको छ । यसरी हेर्दा युद्वको समग्र फाइदा अमेरिका र चीन दुबै शक्ति राष्ट्रलाई दुवैलाई फाइदा छ । त्यसर्थ यी दुबै शक्ति देशहरुले युद्ध चाँडै अन्त्य गर्न जोड दिनुमा निर्णायक भूमिका निभाउन जरुरी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com