काठमाडौं, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना आजदेखि सुरु हुँदैछ । मतगणनाको लागि सर्वदलीय बैठक बसि रहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले बताए । हिजो रातिदेखि नै मतगणना सुरु गर्ने योजना भए पनि मतपेटिक सङ्कलन, मुचुल्का उठाउने लगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना सुरु गर्ने सहमति गरेको कडायतले बताए ।
बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनस् चुनाव गरेको हो । बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्