काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुस(युक्रेन युद्धका सन्दर्भमा सरकारले गलत नीति लिएको भन्दै आलोचना गरेका छन् । उनले यो विषयमा गठबन्धनभित्र समेत आफूले असहमति राखेको बताए ।पार्टीको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले रुस(युक्रेनका विषयमा नेपालले देखाएको पक्षधरता नेपालको भूराजनीतिक परिस्थिति प्रतिकूल रहेको उल्लेख गरे ।‘यो गम्भीर गल्ती भयो भन्ने हाम्रो धारणा हो । एकातर्फ भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम समर्थन गरिरहेको अवस्थामा हामीले कसैको पक्षमा बोल्नुहुँदैनथ्यो । त्यो वक्तव्य क्याबिनेटबाट निर्णय भएर आएको पनि होइन रहेछ । हामीले तत्काल गठबन्धन बैठकमा यो विषयमा असहमति राखेका थियौं’, प्रचण्डले भने ।
उनले यस विषयमा नेपालले स्वतन्त्र असंलग्न नीतिको मान्यता अनुसरण गर्नुपर्नेमा जोड दिए ।उनले थपे, ‘संवादको माध्यमबाट वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरियोस् भन्ने सजिलो विधि हुँदाहुँदै यो वा त्यो पक्षमा अभिव्यक्ति दिनु हाम्रो भूराजनीतिक अवस्थासँग मेल खाँदैन ।’








प्रतिक्रिया दिनुहोस्