काठमाडौं, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ , ‘जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या/अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ ।’ यसबाट मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामा समेत चोट पुर्याएको ओलीको भनाइ छ ।
ओलीले शुभकामना सन्देशमा थप लेख्नुभएको छ ‘फलस्वरुप आज मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको छ ।’
प्रतिक्रिया दिनुहोस्