काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेको छ । बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो । तत्काल ट्राफिक जरिबाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताउनु भयो । उहाँले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गइ कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताउनु भयो ।
उहाँले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप ५ वटा मोबाइलमा मात्रै प्रयोग गरिएको र बिस्तारै यसको संख्या बढाउ“दै जाने बताउनु भयो । प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताउनु भयो ।
महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुचारु गरेको हो । त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाए पनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।








प्रतिक्रिया दिनुहोस्