काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताउनुभएको छ । माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उहाँले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभयो । नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताउनुभयो ।
देशभर समाज सेवा केन्द्र बनाएर नागरिकको सेवामा एमाले जाने अध्यक्ष ओलीले बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको बताउनुभयो । उहाँले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताउनुभयो । कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उहाँले आरोप समेत लगाउनुभयो । यसैकार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदो चुनावपछि एमाले पुनः सत्तामा जाने बताउनुभयो । उहाँले एमालेबाहेक समृद्धिको खाका कसैले पनि कोर्न नसक्ने बताउनुभयो । माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नराख्ने नेता पौडेलले दाबी गर्नुभयो ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको बताउनुभयो ।अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले एमालेलाई कमजोर बनाउने र उत्ताउलो बन्ने छुट नभएको बताउनुभयो । उपमहासचिव भुसालले पार्टीको आउँदो महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बताउनुभयो । यता नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताउनुभयो । चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीले आरोप लगाउनुभयो ।







प्रतिक्रिया दिनुहोस्