काठमाडौं, ८ साउन । सत्तारुढ नेपाली काँग्रेसको पदाधिकारीको बैठक शुक्रबार ९ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री देउवा सरकारले पछिल्लो कोभिड-१९ महामारी नियन्त्रणका लागि नागरिकस्तरमा खोपको उपलब्धता बढाउने विषयलाई प्राथमिकता दिदै आएको छ । यससँगै काँग्रेसको आशन्न चौधौं केन्द्रीय महाधिवेशन पनि समयमै सम्पन्न गर्ने तयारीमा पनि तीव्ररुपमा अघि बढाएको छ ।
प्रधानमन्त्री देउवाले गठबन्धनका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत एमालेका माधवकुमार नेपाल समूहमा विभिन्न छलफल गर्दै आउनुभएको छ । सरकार पुनर्गठनका लागि साझा समझदारीको धारणा निर्माणबारे पनि सत्ता समर्थित दल तथा नेताहरुबीच छलफल हुदै आएको छ । यी लगायत राजनीतिक तथा समसामयिक विषयमा पदाधिकारी बैठकमा छलफल केन्द्रीकृत हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्