काठमाडौं, ४ साउन । नेकपा(एमाले)को सोमबार बसेको बेैठकले पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । प्रवक्ता प्रदिपकुमार ज्ञवालीका अनुसार २४ घण्टा भित्रमा सांसदहरुले दिएको जवाफको आधारमा पार्टीले कारबाही प्रक्रिया अगाडी बढाउनेछ ।
मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुलाई सम्भवत्ः कारबाही प्रक्रिया अगाडी बढाउने छ । यस बैठकले लामो समयदेखि विवादमा रहेको पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविचको विवादलाई वारपार गर्नसक्ने आँकलन गरिएको छ । बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरुले फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले कारबाही गर्न ढिलो गर्नु नहुने मत राखेका छन् । बढीभन्दा बढी केन्द्रीय सदस्यहरुले माधव नेपाल पक्षले अक्षम्य राजनीतिक अपराध गरेको भन्दै माफि दिन नसकिने बताएका छन् ।
विभिन्न जिल्लाबाट एमाले केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले माधवकुमार नेपाल पक्षधरलाई एमालेमा स्वीकार गर्न नसकिने बताएका छन् ।
केन्द्रीय कमिटी सदस्य मना केसीले माधव कुमार नेपाल पक्षले फ्लोर क्रस गर्नुलाई इतिहासले क्षम्य नगर्ने बताउनुभयो । सो समुहले कम्युनिष्ट आन्दोलन प्रति समर्पित सबैको निम्ति घातक निर्णय गरेको बताउनुभयो ।
केन्द्रीय कमिटी सदस्य बद्रीप्रसाद न्यौपानेले एकताका निम्ति गठित कार्यदलले गरेको १० बुँदे सहमतीलाई पार्टीले ग्रहण गरिसकेको भन्दै माधवकुमार नेपाल बाहेकका नेताहरुलाई आत्मालोचनासहित पार्टीमा फर्किदा ठाउँ रहेको बताउनुभयो । यसरी फर्किनेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता ओलीले गरेको उहाँले बताउनुभयो ।
केन्द्रीय कमिटी सदस्य उमा कोईरालाले विपक्षीलाई विश्वासको मत दिएर गद्धारी गरेको बताउनुभयो । सो समुहलाई पार्टीबाट निष्काशन गर्नुपर्ने उहाँले बताउनुभयो । स्पष्टिकरण सोधेर प्रक्रिया पु¥याई पार्टीबाट निष्काशन गरिने उहाँको भनाई छ । आफुहरु जनतामा लोकप्रिय भएको भन्दै उहाँले माधव समुहलाई कारबाही गरेर हटाउँदा संगठन कमजोर नहुने पनि उहाँले जिकिर गर्नुभयो ।
)
केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले विश्वासको मत दिएर असंसदीय, पार्टी र कम्युनिष्ट आन्दोलन विरोधी गतिविधि गरिएको बताउनुभयो । नेपाल पक्षले जनता र मतदातालाई धोका दिएको भन्दै उहाँहरु आफैले स्वघोषणा गरेर एमाले परित्याग गरेको धारणा राख्नुभयो ।
केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले संसदमा विकृत रुप देखिएको बताउनुभयो । जति छिटो पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ त्यति छिटो यस्ता विकृत कदम रोकिने भन्दै उहाँले पार्टी एकतामा जोड दिनुभयो । पार्टीको आइतबारको केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमतीको स्वामित्व ग्रहण गरेको उहाँको भनाई छ । अब एमालेमा कुनैपनि नेता, कार्यकर्ता प्रणालीभन्दा बाहिर जानु नपर्ने तथा सबैको दायित्व, जिम्मेवारी र अधिकार एमालेमा स्थापित छ भन्ने स्थापित भएको उहाँले उल्लेख गर्नुभयो ।
केन्द्रीय कमिटी सदस्य लिला गिरीले फ्लोर क्रसलाई घातक तथा कालो दिनको रुपमा चित्रण गर्दै यसले मुलुकको संसदीय र प्रजातान्त्रिक व्यवस्थालाई नोक्सान पु¥याएको बताउनुभयो । यसको असर इतिहासमा देखिने उहाँको भनाई छ । पार्टी विरुद्धको जघन्य अपराध भएकाले अपराध गर्नेहरु विरुद्ध कारबाही गरिनुपर्ने उहाँको मत छ ।
केन्द्रीय कमिटी सदस्य मोहन बाँनियाले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गराउनको लागि राजनीतिक अपराध भएको बताउनुभयो । यसले पार्टीलाई मात्र नभई स्वयं व्यक्तिहरुलाई पनि घाटा हुने उहाँको तर्क छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टी एकताको सम्भावना नभएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्