काठमाडौं, ३ साउन । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्दैछ । सर्वोच्च अदालतको आदेश अनुसार गठित मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह चार बजे बस्ने गरी प्रतिनिधि सभा बैठक बोलाउनु भएको छ ।
संघीय संसद सचिवालयले बैठकका लागि सबै तयारी पूरा भएको जनाएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा प्रतिनिधि सभा पुनःस्थापन गरेपछि आज पहिलो पटक बैठक बस्न लागेको हो ।
यस्तै राष्ट्रिय सभा बैठक पनि आजै अपरान्ह चार बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकका लागि एजेण्डासमेत तय गरिसकेको छ । शनिबार बेलूकी सार्वजनिक भएको कार्यसूचीअनुसार अपरान्ह ४ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद बैठकबारेको पत्र पढेर सुनाउने कार्यतालिका छ । त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्वसांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्