काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा आलीले संसदको भविष्यप्रति शंसय व्यक्त गर्नुभएको छ । राजनीतिलाई विपरीत दिशामा लैजान खोजिएको भन्दै उहाँले समयमा निर्वाचन हुनेमा पनि शंका व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भन्नुभयो ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जस्तो घटना विकास हुँदैछ, त्यसले यो संसद र सरकार सही सलामत अगाडि बढ्ला भन्नेमा शंका छ ।’ त्यस्तै प्रधानमन्त्री ओलीले सबै नेपाली जनतालाई पुग्नेगरि खोप आपूर्तिको प्रवन्ध गरिसकिएको जानकारी दिनुभयो । पदबाट बाहिरिदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलीयत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताउनुभयो । ओलीले सम्बोधनमा भन्नुभयो खोपको लागि सबै प्रवन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर भरेदेखि पहिलेनै लगाइएका खोपको फोटो राखेर हामीले गर्यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु,जनतालाई खोपको प्रबन्ध गरेर जाँदैैछु ।
ओलीले बालवालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताउनुभयो । उहाँले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताउनुभयो । त्यस्तै अमेरिकबाट उपहारस्वरुप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्