पुथाउत्तरगंगा गाउँपालिकाको हुकामबाट सोमबार बेलुकी अवेर उडेको हेलिकोप्टर रुकुमकोटको आकाशमा उडेपनि अवतरण गर्न नसक्दा रोल्पाको लिवाङमा लगिएको थियो ।
रुकुमकोटको भिजिविलिटी स्पस्ट नभएका कारण मतपेटिका लिएर आएको हेलिकोप्टर अवतरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताउनुभयो ।
रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि चार मतदान स्थलका मतपेटिका, मतदान अधिकृत र केही कर्मचारीहरुले सोमबारको रात रोल्पामै बिताए । जिल्ला सदरमुकामदेखि दुई दिनको पैदल दुरीमा रहेका पुथाउत्तरगंगा गाउँपालिकाको हुकाम, रन्मामैकोट, मैकोट र पेल्मा गरी ४ मतदान स्थलका १२ ओटा मतपेटिका ओसार्न हेलिकोप्टरको प्रयोग गरिएको हो ।
मतपेटिका रातभर रोल्पाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको थियो । चार मतदान स्थलका मतपेटिका पुगेसँगै जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाम पुगेका छन् । ३१ मतदान स्थल रहेको जिल्लाका अन्य २७ मतदान स्थलका मतपेटिका भने सोमबार नै रुकुमकोट पुर्याइसकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्