काठमाडौं, ३ पुस । सरकारले नेपाल भ्रमण वर्षको तयारी गरिरहेका वेला विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी जाने यात्रुले वर्षौँदेखि धुलो खानुपरेको छ । पप्पु कन्स्ट्रक्सन र बाम्ती निर्माण सेवाको बदनियतका कारण भैरहवा–लुम्बिनी सडकखण्डमा दुई पुल अलपत्र छन् ।
हुलाकी राजमार्गअन्तर्गत भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ नदी र दानव नदीमा पुल बनाउन पप्पु र बाम्ती निर्माण सेवाले संयुक्त रूपमा २५ पुस ०७१ मा ठेक्का लिएका हुन् । पुल निर्माण ०७३ भित्र सक्ने सर्त थियो । जनताले दिनदिनै सास्ती पाइरहेका छन् । म्याद सकिएको तीन वर्षसम्म पनि दुवै पुल अलपत्र पारेपछि सरकारले बुधबार सार्वजनिक सूचना निकालेर ठेक्का तोडेको छ । अब ठेक्का कहिले लाग्ने हो, ठेकेदार पनि कस्ता आउने हुन् र पुल कहिले बन्ने हो भन्ने अनिश्चित छ । टेन्डर भयो, ठेक्का लाग्यो, पप्पु र बाम्ती कन्स्ट्रक्सनले नगद बुझे, पुलको बीचको भाग ठडियो, दुई छेउको काम गर्नुको सट्टा ठेकेदार लामो समयसम्म सम्पर्कविहीन भएको आयोजनाको भनाइ छ । छेउको फाउन्डेसन खन्दा चल्तीको सडक भासिने र यातायात अवरुद्ध हुने ठेकेदारको भनाइ थियो । सडक भासिएमा खोलामा डाइभर्सन खोलेर यातायात सुचारु गर्न भनिएको थियो । तर, ठेकेदार कम्पनीले काम छाडेको थियो ।
तिनाउ पुल बनाउन ६ करोड दुई लाख र डोन्डा पुल बनाउन पाँच करोड ५६ लाखमा सरकारले पप्पु र बाम्तीको संयुक्त उपक्रमलाई ठेक्का दिएको थियो । समयमा काम नसकेपछि म्याद ६ महिना थपेर पुस ०७३ मा सक्ने सहमति भएको थियो । पछि दुई वर्ष नै म्याद बढाएर असार ०७५ मा सम्पन्न गर्ने भनिएको थियो । तर, थपिएको म्याद सकिएको डेढ वर्षमा पनि तिनाउ र डोन्डा पुलको बीचको भाग मात्रै बेवारिसे अवस्थामा छ । तर, यसबीचमा तिनाउ पुल निर्माणका क्रममा तीन करोड ६५ लाख र डोन्डा पुलको निर्माणका लागि दुई करोड ४० लाख बुझिसकेको छ ।
ठेक्का तोडेको आयोजनाले ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नसमेत सिफारिस गरेको छ । यसरी बदनियत राखेका कारण ठेकेदार कम्पनीलाई कारबाही गर्ने बाटो खुलेको छ । तर, पुल कहिले बन्ने भन्ने निश्चित छैन । जब कि तिनाउ पुलमा रहेको पुरानो पुल जीर्ण भएका कारण एकतर्फी मात्र सवारी सञ्चालन हुने गरेको छ जसका कारण दिनहुँ जाम हुने गरेको छ ।
यसैगरी, चितवनको गोलाघाटस्थित नारायणी पुल डिजाइन गरी निर्माण गर्नुपर्नेमा ठेक्काको म्याद सकिँदासमेत डिजाइनसमेत तयार भएन । यसको ठेकेदार पनि पप्पु नै हो । पप्पुको ज्वाइन्ट भेन्चरको रूपमा रमण कन्स्ट्रक्सन पनि थियो ।
गोलाघाटमा पुल बनाउन २५ असार ०६९ मा ठेक्का सम्झौता भएको थियो । ३६ करोड चार लाखमा ठेक्का लिएपछि पेस्कीबापत तीन करोड ६० लाख ठेकेदारले लिएको छ । पुल निर्माणको काम २४ असार ०७६ मा सम्पन्न गर्नुपर्ने थियो । तर, सात वर्षसम्म पुलको डिजाइनसमेत बनाएको छैन ।
काम नगरेकाले १६ असार ०७६ मा ठेक्का रद्द गरिएको थियो । तर, सात वर्षसम्म काम नगरेकाले ठेक्का रद्द गरी पप्पु–रमण जेभीलाई कालोसूचीमा राख्न हुलाकी सडक निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्