हेटौंडा, ३ पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई युवाको अपहरणमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं, पुरानो बानेश्वरका आशीष सिजापती, कन्चनपुरको श्रीपुरकी सुनिता धामी, धादिङको नेत्रावती गाउँपालिका–६ का कृष्ण गुरुङ, सोही ठाउँका ट्याक्सीचालक आशिक लामा रहेका छन् ।
त्यस्तै, बन्धक बनाएर हेटौंडा उपमहानगरपालिका–९ स्थित सरस्वती तामाङको घरमा राखिएकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबारै बिहान बाराको अमलेखगन्जबाट ट्याक्सीमा काठमाडौं जाँदै गरेका काभ्रेको मन्डनदेउपुर नगरपालिका–९ का २८ वर्षीय सरोज सापकोटा र रामेछापको दोरम्बाका २१ वर्षीय नरेश थापा हेटौंडाबाट अपहरणमा परेका थिए ।
उनीहरुलाई हेटौंडाको वनविज्ञान क्याम्पस गेटअगाडिबाट अपहरण गरी सोही ट्याक्सीमा राखेर हेटौंडाको लामसुरेमा बन्धक बनाइएको थियो ।अपहरित थापाले अपहरणकारीले डेढ करोड रुपैयाँ मागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्