काठमाडौं, १ पुस । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोलिटबीच मंगलबार भेटवार्ता भएको छ।
उक्त भेटमा अर्थमन्त्री डा। खतिवडाले नेपालको सहयोगमा बेलायत सरकारबाट सदियौंदेखि सहयोग प्राप्त भइरहेको बताउनुभयो । भेटमा अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
अर्थमन्त्री खतिवडाले भूकम्प पश्चातको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको लागि आभार व्यक्त समेत गनुभयो। बेलायतसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले लगानीको वातावरणमा सुधार भएकाले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दै अर्थमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्ने वातावरण बनाउन राजदूतको महत्वपूर्ण भूमिकाको अपेक्षा गर्नुभयो ।
राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसगँ सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको थियो । उहाँले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउदै नेपालको प्राथमिकताअनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने विश्वास दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्