काठमाडौं, १ पुस । उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिनु भएकी विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
उहाँलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजेपछि शपथ ग्रहण गराउनु भएको हो ।
सभामुखको पद रिक्त रहेको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण समारोहमा उच्च ओहोदाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि विद्याले कास्की २ बाट उपचुनावमा सांसद पदको लागि उम्मेदवारी दिनुभएको थियो ।
उपचुनावमा भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गर्नुभएको थियो । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको थियो ।
उहाँ लामो समयपछि राजनीतिमा फर्किनुभएको हो । विद्यार्थी कालमा तत्कालीन नेकपाको अनेरास्ववियुमा सक्रिय भट्टराई पछिल्लो समय प्राध्यापन पेसामा सक्रिय हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्