काठमाडौं, ३० मंसिर । काठमाडौंस्थित पाकिस्तानी दुतावासद्धारा नेपाली विद्यार्थीहरुका लागि आयोजना गरिएको निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
काठमाडौंस्थितको पाकिस्तानी दुतावासले उच्च माध्यामिक तहका विद्यार्थीहरुका लागि निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता आयोजना गरेको हो । शिल्क रुट ः पास्ट, प्रिजेन्ट एण्ड फ्यूचर नामक शिर्षकमा आठौं निबन्ध लेखन प्रतियोगिता भएको थियो । यस्तै, ईन्क्लुजिभ एप्रोच् ईज् बेटर कि टु सक्सेस् रेदर द्यान एक्स्क्लुसिभ् एप्रोच नामक शिर्षकमा चौथो पटक वक्तित्वकला प्रतियोगिता भएको हो । दुतावासबाट आयोजित कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले दुतावासबाट हुने यस्ता प्रतियोगिताले नेपाली बिद्यार्थीहरुलाई लाभ पुग्ने बताउनुभयो । यस्ता खाले कार्यक्रमले नेपाल पाकिस्तानबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्री विश्वकर्माले विश्वास गर्नुभयो ।
निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगितामा नेपालका विभिन्न विद्यालय तथा क्याम्पस, विद्यार्थी, शिक्षक, अभिभावक एवम् सरकारको साथ पाएकोमा नेपालका लागि पाकिस्तानका राजदूत डाक्टर मजहर जाबेदले धन्यवाद व्यक्त गर्नुभयो । डाक्टर जावेदले आगामी दिनमा पनि सबै पक्षबाट दुतावासको कार्यक्रममा साथ, सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । प्रतियोगिताको निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर मोहन प्रसाद लोहनी, प्राध्यापक हेमराज सुवेदी, विष्णुहरि रिमाल लगायत हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष्ँ हिमालय शम्शेर जबरा लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्