काठमाडौं, ३० मंसिर । काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका९८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो ।
अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाले बताउनुभयो । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ । ‘भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका रहेछन् बिहान श्रीमानले उठाउँदा उठेनछन्,’ डिएसपी कामतीले भन्नुभयो । उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा–छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए । बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्