काठमाडौं, १० मंसिर । बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको भएपनि बस चालकले सो कुरा स्वीकार गरेका छैनन्।
मृतक डाक्टर सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडक पारि गएको देखिँदैन,’ ‘त्यसकारण दुर्घटनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ।’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भन्नुभयो । प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताए। चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो। गाडी काठमाडौं–रामेछाप रुटको हो।
जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो। जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो।
त्यसदिन सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो। तर, सिसिटिभी फुटेजमा सवारी पहिचान स्पष्ट नभएपछि प्रहरीले तत्काल पक्रन सकेको थिएन।
प्रतिक्रिया दिनुहोस्