
काठमाडौं, ८ मसिर । शनिबार दिउँसो एउटा प्राइभेट नम्बरको गाडी पुतलीसडकबाट भृकुटीमण्डपतिर सोझियो। कार सामान्य नै थियो तर त्यसको दाँयाबाँया असामान्य तरिकाले मान्छेहरू दौडिरहेका थिए। कालो चस्मा, सुटपाइन्ट लगाएका व्यवसायिक सुरक्षागार्डजस्ता देखिने युवा कारसँग दौडिएर भृकुटीमण्डप पुगे।

यो दृश्य डेढ वर्षअघि उत्तर र दक्षिण कोरियाको सीमामा देखिएको दृश्यसँग मिल्दोजुल्दो थियो। सन् २०१८ अप्रिलमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनसँगको पहिलो शिखर वार्ताका लागि सीमा क्षेत्रमा पुगेका उत्तर कोरियाली शासक किम जोङ उनको गाडीसँगै सुरक्षा गार्ड दौडिएका थिए।

किमका गार्डको सुरक्षा दिने उक्त स्टाइल शनिबार काठमाडौंमा जनमत पार्टीका कार्यकर्ताले ‘कपी’ गरेका हुन्। स्लो स्पिडमा गुडिराखेको गाडी भित्र थिए जनमत पार्टीका अध्यक्ष सिके राउत।
खुला राजनीतिमा आएपछि पहिलो पटक राउतको जनमत पार्टीले शनिबार रंगभेदविरूद्ध काठमाडौंमा एकता सभा गरेको थियो। सभास्थल आउँदै गरेका राउतलाई पुतलीसडकदेखि दायाँबायाँ उनैका सुरक्षागार्डले सुरक्षा दिएका हुन्।









प्रतिक्रिया दिनुहोस्